
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।
विगत १४ दिनदेखि काठमाडौं उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरुपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलिसकेको छ ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल सिसडोलमा रहेका फोहरको ढिस्कोलाई पन्छाएर नै बञ्चरेडाँडामा फोहर लाने भएकाले, अहिले पानी परिरहेकाले पनि व्यवस्थितरुपमा बाटो बनाउन सकिँदैन । पानी पर्न कम भएपछि व्यवस्थितरुपमा फोहर पन्छाउने काम शुरू हुने र तत्काल सिसडोलको विकल्प चाहिएको उनको भनाइ छ ।
अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ ।
विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थानमा अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो । 'समस्या आउने जाने बाटोको होइन, उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने स्थान चाहिएको हो,' प्रमुख श्रेष्ठले भने, 'सिसडोलबाट बञ्चरेडाँडासम्म जानका लागि आवश्यक पर्ने २०० मिटर बाटो निर्माण गरी विसर्जनस्थल तयार गर्नुपर्ने हो ।'
शहरी विकास मन्त्रालयले बढीमा अबको एक हप्तामा बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सम्पन्न गरी कामपालाई हप्तान्तरण गर्ने तयारी रहेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।
गत साउन ३२ गतेदेखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । लामो समयदेखि फोहर उठ्न नसक्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ ।
सिसडोलमा २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।