१३ असार २०८३, शनिबार

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

लेखनाथ उद्योग वाणिज्य संघको १३औँ महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । संघको निर्वाचन भदौ १८ र १९ गते गर्ने भनिएको थियो । 

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा भेला जुलुस गर्न नपाइने भन्दै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । 

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै महाधिवेशन गर्नेबारे प्रशासनमा अनुमति लिन पुगेको संघको टोलीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विषम परिस्थितिमा ठूलो संख्यामा भेला हुने महाधिवेशन नगर्न निर्देशन दिएका हुन् । उनले सहज वातावरण भएपछि मात्र महाधिवेशन गर्र्न सकिने बताएपछि तत्कालका लागि पूर्व निर्धारित महाधिवेशन स्थगित भएको हो । 

संघमा आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत छत्रधर आत्रेयले आफूहरूले लेखनाथस्थित महोत्सवस्थलको ५२ रोपनी फराकिलो ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर महाधिवेशन गर्न अनुमति लिन गएकोमा प्रशासनले तत्कालका लागि रोक्ने आदेश दिएको जानकारी दिए । उनका अनुसार कोभिडको अवस्था कस्तो हुन्छ त्यसपछि मात्र अर्को मिति तय गरिने छ । 

महाधिवेशनअन्तर्गत हालसम्म उम्मेदवारको अन्तिम नामावली टुंगिएको निर्वाचन समितिले जनाएको छ । संघमा अध्यक्षसहित एसोसियटतर्फ मेघराज पौडेल र संस्थागततर्फ निर्माण व्यवसाय संघको अध्यक्ष रामबहादुर गुरुङ सर्वसम्मत भइसकेका छन् । अन्य पदमा मतदान हुनेछ । 

कास्कीमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै गत वैशाख १५ देखि निरन्तर निषेधाज्ञा छ । हाल निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि कोरोना जोखिम घटेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्