नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ ।
आइतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । उनीहरुले कार्यभार सम्हालिसकेका छन् ।
नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।
अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए ।
स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता गरे ।
यसैगरी महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए ।