
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन्।
बञ्चरेडाँडामा निर्माणधिन स्यानिटरी ल्याण्ड फिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।
‘तपाईँहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरेडाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’
शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको पनि जानकारी दिए ।
‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन नसकेका हौँ ।’
उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गरे। ‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगरवासिलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएका थियौँ । अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौँ । बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।’
प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिए । ‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौँ,’ उनले भने, ‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ । मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको सडक विभागसँग सहकार्य गरिरहेका छौँ ।’
उनले विगतका दिनमा पनि समन्वयमै फोहोर व्यवस्थापन गरिरहेको समेत जानकारी दिए । ‘अहिले पनि समन्वय गरिरहेका छौँ, उहाँहरुबाट सकारात्मक रुपमा सहयोग गर्ने बचन प्राप्त भएको छ,’ शाक्यले भने, ‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौँ । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौँ । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौँ । सहरी विकास मन्त्रालयसँग हामीले पहिलादेखि नै सहकार्यमा थियौँ ।’
अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उनले भने, ‘हामी सबैलले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर सहरी विकास मन्त्रालयले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौँ । उहाँहरुले हस्तान्तरण नगरेसम्म हामी व्यवस्थापन गर्न कठिनाई हुन्छ ।’
पूर्व सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरका पालामा समेत बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणका लागि उनले धेरै प्रयास गरेको भए पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको स्मरण गराए । ‘मन्त्री मानन्धरसहित हामी त्यतिबेला निरीक्षणका लागि बञ्चरेडाँडा गएका थियौँ । त्यसैबेला उहाँहरुले जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो,’ अहिलेसम्म त्यो भएको छैन । सहरी विकास मन्त्रालय हामीलाई बञ्चरेडाँडाको काम सम्पन्न गरेर हामीलाई जतिसक्दो छिटो हस्तान्तरण गरेभने हामी यहाँको फोहोर व्यवस्थापन छिटो गर्न सक्छौँ ।’
सञ्चारकर्मीको टोलीसँगै सिसडोल पुग्नु भएका काठमाडौँ महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि गत वर्ष नै बञ्चरेडाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फहोर व्यवस्थापन गर्न कठिन हुने जानकारी मन्त्रालयलाई गराएको स्मरण गराउनुभयो ।
‘तर उहाँहरुले यो वर्ष बञ्चरेडाँडामा फाहोर जाँदैन, सिसडोलमै व्यवस्थापन गर्नुहोस भनेपछि हामीले गतवर्ष सिसडोलमै फोहोर व्यवस्थापन गरेका थियौँ,’ उनले भने, ‘हामीले यो वर्ष सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिन्न । बञ्चरेडाँडामा जानुको विकल्प छैन भनेर पटक–पटक भन्यौँ, छलफल पनि भयो । यद्यपि, कोभिडका कारण निर्माण सम्पन्न गर्न ढिलाई भएकाले थप समस्या भयो ।’
उनले वर्षका कारण सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप समस्या भएको जानकारी दिए ।
‘अहिले काठमाडौँको फोहोर व्यवस्थापन नै नभएको होइन । तर, फोहोर व्यवस्थापन गर्नु पर्ने ठाउँमा पुग्न करीव ४ सय मिटर फोहोरमाथि बनेको सडकबाट जानु पर्छ । नियमित झरीले गर्दा त्यो सडक भासिने भएपछि फोहोर बोकेर गएका ट्रकहरु ठाउँमा पुग्न सकेका छैनन् । त्यो दृष्य तपाईँहरुले पनि देखिसक्नु भएको छ,’ श्रेष्ठले भने, ‘सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि भ्याली १ को क्षमता बढाएर व्यवस्थापन हुँदै आएको छ । यही कारण सहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौँ महानगरपालिका एक रति पनि पछि हटेको छैन ।’
सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताए ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।
यो काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन ।
१ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ ।
उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।