
केही समय यता काठमाडौं उपत्यकाको फोहोर सडकमा थुप्रिरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा फोहोरको डंगुर देख्न सकिन्छ ।
सधैँ फोहोर व्यवस्थापन भइरहेको सिसडोल ओखरपौवाका बासिन्दाले मानव वस्तीमा फोहोर फालेर सरकारले त्यसको उचित व्यवस्थापन नगरेको र त्यसले समाजमा विभिन्न समस्या पैदा भइरहेको भन्दै विरोध जनाएपछि काठमाडौं उपत्यकाका सडक–सडकमा फोहोरको थुप्रो देखिन थालेको हो ।
फोहोर उठ्न नसक्नुको अर्को कारण भनेको सिसडोल जाने मोटरबाटो बन्न नसक्नु रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । उनले वर्षायाममा अझ विशेष गरेर यस वर्ष धेरै पानी परेकोले बाटो हिलाम्मे भएको र फोहोरका गाडीहरू जानै नसक्ने अवस्थाले फोहोर थुप्रिएको बताए ।
मेयर शाक्यले आजको प्रधानमन्त्रीसँगको भेटघाटपछि प्रधानमन्त्रीले तत्काल सडक विभागलाई बाटो अस्थायी रुपमा भए पनि निर्माण गरिदिन निर्देशन दिएको र अबको केही दिनमै फोहोर व्यवस्थापन गरिने बताए ।
यो समस्या सबैको भएकाले कसैलाई दोष नदिने बताउँदै सबैले आ– आफ्नो क्षेत्रबाट सहयोग गरे उपत्यकाको फोहोर व्यवस्थापन गर्न समय नलाग्ने बताए ।
‘हामीले सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आइरहेका छौँ त्यहाँ गाडी जान नसकेको कारणले फोहोर उठाउन नसकिएको हो,’ उनले भने, ‘अहिले पनि केही–केही गाडीहरू गइरहेका छन् । तर, जुन अनुपातमा नियमित रुपमा जानुपर्ने हो त्यो जान सकेका छैनन् । त्यसका लागि पहल गरिरहेका छौँ ।’
फोहोरको समस्या आफ्नो मात्र नभएको भन्दै उनले यसमा संघ, प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘काठमाडौं महानगरपालिका मात्रैको होइन, ललितपुरमा हेरे पनि त्यस्तै छ, ठिमीमा हेरे पनि त्यस्तै छ, अरू नगरपालिकामा हेरे पनि त्यस्तै छ, सबैतिर फोहोर थुप्रिएको छ,’ उनले भने, ‘यो एउटा महानगरको मेयरको मात्र चिन्ताको विषय होइन, समग्र उपत्यकाको हो । त्यसैले संघ र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने विषय हो ।’
यो महानगरको मेयरले मात्रै गर्छ भनेर सबै पन्छिन नहुने उनी बताउँछन् । ‘यस्तो बेलामा सबै मिलेर, स्वामित्व लिएर, जिम्मेवारी बहन गरेर समाधानतिर लाग्नुपर्छ,’ उनले भने ।