
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५ वटा दरबन्दी थप गर्ने तयारी गरेको छ । प्राविधिकबाहेक प्रहरीमा ५ जना एआईजीको दरबन्दी छ, त्यसलाई बढाएर १० बनाउन लागिएको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार संगठन तथा व्यवस्था (ओएन्डएम) समितिको प्रस्तावमा ७ वटा प्रदेशमा एआईजी प्रमुख राख्ने योजनाअनुसार दरबन्दी थप गर्न लागिएको स्रोतले बतायो ।
‘देश संघीयतामा गएपछि प्रमुखमा कटसी मेन्टेन गर्न पनि समस्या थियो, यसपछि यो समस्या समाधान हुने विश्वास गरेका छौं,’ गृहका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
अहिले ओएन्डएम समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । सम्भवतः अब बस्ने बैठकले दरबन्दी थपको निर्णय लिने स्रोतको दाबी छ ।
यसभन्दा अगाडि असार २७ गते ओली सरकारले दरबन्दी थप गरेर सहकुल थापालाई एआईजी बनाएको थियो ।
अहिले एआईजीहरू हरिबहादुर पाल, विश्वराज पोखरेल, निरज शाही, प्रद्युम्न कार्की र सहकुलबहादुर थापा छन् ।
पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी, कार्की नेपाल प्रहरी एकेडेमी, पोखरेल अपराध अनुसन्धान तथा कार्य विभाग, शाही प्रहरी प्रधान कार्यालय र सहकुल थापा कार्यभारविहीन छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली सरकारले गरेको एआईजीहरूको सरुवा समेत रोकिएको छ ।
नयाँ दरबन्दी थप गरेर एआईजीहरूको सरुवा फेरि गर्ने तयारी गृहमन्त्रालयले गरेको स्रोतले लोकान्तरलाई बतायो ।
ओली सरकारभन्दा अगाडि प्राविधिकबाहेक १६ जना एआईजी थिए । ओली सरकार आएपछि भारी कटौती गरेर ३ जना मात्र एआईजी बनाइएको थियो ।
यसभन्दा अगाडि प्रदेश प्रहरी प्रमुख डीआईजी हुँदा सरकारी काममा अप्ठ्यारो परेको गुनासो आउने गरेको थियो ।
निजामतीतर्फ विशिष्ट श्रेणीको अधिकृत हुने तर प्रहरीमा प्रथम श्रेणीको अधिकृत प्रमुख हुँदा शिष्टाचार मर्यादा (कटसी मेन्टेन) नहुँदा समस्या थियो ।
अब एआईजी प्रमुख हुने भएपछि त्यो समस्या समाधान हुने भएको प्रहरी उच्च अधिकृतहरू बताउँछन् ।
एआईजीको प्रतिस्पर्धामा को–को ?
दरबन्दी थप हुने भएपछि एआईजीका लागि विश्व पोखरेलका ब्याची र आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरू प्रतिस्पर्धामा छन् ।
डीआईजीहरू धीरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुक, अरुण बिसी, दिवेश लोहनी, वसन्तकुमार लामा मुख्य प्रतिस्पर्धी छन्, उनीहरू विश्वराज पोखरेलका ब्याची हुन् ।
आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वसन्त पन्त, गणेश ऐर, राजेशलाल कर्ण, रामकृपाल साह, प्रकाशजंग कार्की र सौरभ राणा पनि एआआईजीका लागि आकांक्षी छन् ।
तर प्रतिस्पर्धामा आईजीपीका ब्याचीभन्दा विश्वराज पोखरेलका ब्याचीहरू अगाडि देखिएका छन् । धिरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुक र वसन्तकुमार लामा एआईजी बन्ने लगभग निश्चित जस्तै रहेको स्रोतको दाबी छ ।
आईजीपीका ब्याची गणेश ऐर पनि एआईजी बन्न सक्ने चर्चा छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेको स्रोतको दाबी छ ।