
विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका छन् ।
विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको एएफपीले जनाएको छ ।
कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।
गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो ।
विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।