०१ असार २०८३, सोमबार

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे ।

नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उनले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ राजदूत चौधरीले भने । राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेको भन्दै नेपालको पर्यटन क्षेत्रको विकासले उल्लेख्य लाभ हासिल गर्न सक्ने धारणा राखेका थिए । नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिदैं उनले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने धारणा राखे । 

बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशील बनाउन सकेको उदाहरण पनि दिए । ‘बंगलादेश महिलाहरू र साना व्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो,’ उनले भने । 

भेटवार्ताका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने उल्लेख गरे । 

बंगलादेशलाई ऊर्जाको ठूलो परिमाणमा उर्जाको आवश्यकता रहेको सन्दर्भमा नेपालबाट स्वच्छ उर्जा निर्यात एउटा महत्वपूर्ण विकल्प हुने अग्रवालको धारणा थियो । 

अध्यक्ष अग्रवालले दुईदेशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिनेमा जोड दिए ।

अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको राजदूतलाई जानकारी गराएको सीएनआइद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अभियानको उद्देश्य नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन ल्याउनु रहेको र त्यसको नेतृत्व परिसंघले लिने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्