
युरोपेली फुटबलमा खेलाडीको ‘समर ट्रान्सर’ मंगलवार रातिबाट सकिएको छ । यसपटक ला लिगाको समर ट्रान्सफर बजार विगतको जस्तो तातेन । ला लिगा मात्र होइन, कोरोना महामारीले समग्र युरोपेली फुटबललाई शिथिल बनायो । जसले गर्दा क्लबहरू खेलाडीका लागि चर्को मूल्य खर्च गर्न डराए ।
समर ट्रान्सफरको अन्तिम दिनसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवास्टार केलियन एमबाप्पे खुबै चर्चामा रहे । एमबाप्पेलाई अनुबन्ध गर्न रियल म्याड्रिडले अन्तिमसम्म प्रयास जारी राख्यो । तर, रियलको तीन पटकसम्मको प्रस्तावलाई पीएसजीले इन्कार गरेको छ ।
एमबाप्पेका लागि पहिलो पटक १६० मिलियन युरो प्रस्ताव गरेको रियलले दोस्रो पटक १७० मिलियन युरो खर्चन तयार भयो । एमबाप्पेका लागि तेस्रो पटक समेत मोटो रकमको प्रस्ताव लगेको रियल अन्तिममा सफल बन्न सकेन । पीएसजीले एमबाप्पेलाई क्लबमै राख्न चाह्यो ।
२२ वर्षीय एम्बाप्पे पीएसजी छाड्न चाहन्थे । टोलीमा बार्सिलोनाका पूर्वकप्तान लियोन मेस्सी छिरेपछि एमबाप्पेको पीएसजी छाड्ने ठूलो चाहना थियो । रियल र एमबाप्पेको चाहना यसपटक पनि सफल भएन । पीएसजीमा एक वर्ष सम्झौता बाँकी रहेका एमबाप्पे अर्को सिजन फ्री ट्रान्सफरमा रियलनै जाने योजनामा छन् ।
यता वित्तीय अवस्था खराब भएको बार्सिलोनाबाट यस सिजन ११ जना खेलाडीले क्लब छाडेका छन् । कप्तान लियोनल मेस्सी पीएसजी गएको दुई सातापछि फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यान पूर्व क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन् । एट्लेटिकोले अन्तिम समयमा आफ्नो पूर्व स्ट्राइकर ग्रीजम्यानलाई अनुबन्ध गरेको हो ।
ट्रान्सफरको अन्तिम दिन बार्सिलोनाले ग्रीजम्यानसँगै रक्षक एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिवालाई पनि बेचेको छ । लोनमा बेटिसमा रहेका एमर्सन प्रिमियर लिग क्लब टोटेनह्माम र मोरिवा जर्मन क्लब लेइपजिग गएका छन् ।
३० वर्षीय ग्रीजम्यानलाई एट्लेटिकोले एक वर्षका लागि लोनमा फर्काएको हो । यसअघि सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोमा रहेका ग्रीजम्यानले टोलीका लागि २५७ खेल खेल्दै १३३ गोल गरेका थिए ।
उनी सन् २०१९ मा १२० मिलियन युरोमा बार्सिलोना गएका थिए । बार्सिलोनामा ग्रीजम्यानले १०२ खेल खेल्दै ३५ गोल गरे । यस सिजन बार्सिलोनामा तीन खेल खेलेका उनी गोलबिहीन बने । बार्सिलोनामा मेस्सीको छायाँमा परेका ग्रीजम्यानले मेस्सीले छाडेपछि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको थियो । तर डच स्ट्राइकर मेम्फिस डिपाए यसै सिजन बार्सिलोना आएपछि ग्रीजम्यान फेरि डिपाएको छायाँमा परे ।
ग्रीजम्यानको आगमनले साविक विजेता एट्लेटिकोलाई ठूलो राहत मिलेको छ । रोजाइका स्ट्राइकर लुइस स्वारेज घाइते भएका कारण ग्रीजम्यानले उनको स्थान लिने विश्वास गरिएको छ । उरुग्वेली स्टार स्वारेज आइतवार भिल्लारियलविरुद्धको खेलमा घाइते भएका थिए । देब्रे घुँडामा चोट बोकेका स्वारेज दुई साता मैदान बाहिर रहने एट्लेटिकोले जनाएको छ ।
स्वारेजले गोल गरेको उक्त खेलमा एट्लेटिको २–२ गोलको बराबरीमा रोकिएको थियो । स्वारेज गत सिजन बार्सिलोनाबाटै एट्लेटिको आएका हुन् । एट्लेटिकोलाई ला लिगा उपाधि जिताउन ३४ वर्षीय स्वारेजको उल्लेख्य भूमिका थियो ।
यस पटक एट्लेटिकोलाई उपाधि रक्षा गर्न स्ट्राइकिङ लाइनमा जोआओ फेलिक्स, एन्जल कोरेआका र म्याथिस कुन्हाको बलियो साथ छ । त्यसैले ग्रीजम्यानलाई यिनैसँग टिक्नु पर्ने चुनौती छ ।