तालिबानले करोडौं रुपैयाँ पर्ने वायुसेनाका हतियार तथा उपकरण हात पारेपछि उसको शक्ति नेटोका कैयौं सदस्य मुलुकहरूभन्दा धेरै भएको छ ।
विगत केही महिनामा तालिबानले बागरामदेखि मजार–ए–शरीफसम्मका १० वटा प्रमुख एयरफील्डमा कब्जा जमाएका छन् । त्यसक्रममा उनीहरूले अमेरिकाबाट ल्याइएका हेलिकप्टर र अन्य उपकरणहरू पनि हात पारे ।
बुधवार उनीहरूले ६० लाख डलर पर्ने ब्ल्याक हक हेलिकप्टर उडाएर पंजशिर उपत्यका लगेका छन् । त्यहाँ तालिबानविरुद्धको प्रतिकारलाई दबाउने प्रयास भइरहेको छ ।
तालिबान प्रमुखहरूले विघटित अफगान वायुसेनाका पाइलटहरू पत्ता लगाउन लडाकूहरूलाई आदेश दिएका छन् । ती पाइलटहरूले अमेरिका तथा साझेदार मुलुकबाट विमान उडाउने विषयमा महंगो तालिम पाएका छन् ।
मंगलवार तालिबान लडाकूहरू काबसल विमानस्थलमा राखिएको १ करोड ४० लाख डलर पर्ने हर्क्युलिज ट्रान्सपोर्ट जेटको ककपिटमा चढेको देखिएको थियो ।
अफगान वायुसेनाले १०८ हेलिकप्टर र ५९ विमान सञ्चालन गर्ने गरेको अमेरिकाको आधिकारिक निरीक्षण टोलीले गत जुन महिनामा बताएको थियो ।
यससँगै नेटोका ३० सदस्यमध्ये १० को भन्दा तालिबानसँग बलियो वायुसेना छ ।