काठमाडौं, १ असार- नेपालको विद्युत् आवतजावतका लागि महत्वपूर्ण मानिएको २२० केभीको भरतपुर–वर्दघाट प्रसारणलाइनको ठेक्का तोडिएको छ, कारोबार दैनिकमा खबर छ ।

चार वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने ७५ किलोमिटर लामो उक्त प्रसारणलाइनको निर्माण पूरा नभई अहिले आएर ठेक्का तोडिएको हो । प्रसारणलाइन नबन्दा १ सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाको केही विद्युत् खेर जाने गरेको छ ।
सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । प्रसारणलाइनको ठेक्का लिएको सेन्टर चाइना पावर ग्रीड (सीसीपीजी)ले निर्माण अघि नबढाएपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडेको हो ।
“ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का तोडेका छौं, अब कसरी अघि बढ्ने भन्ने टुंगो लाग्न बाँकी छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । १ अर्ब १० करोडमा ठेक्का सम्झौता गरेको सीसीपीजीले राखेको करिब २० करोड पर्फर्मेन्स ग्यारेन्टी पनि जफत गरिएको प्राधिकरणले जनाएको छ ।