
काठमाडौं महानगरपालिकाले १८ दिनदेखि रोकिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि १ हप्ता लाग्ने जनाएको छ ।
कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर बुधवारदेखि व्यवस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करीब १ हप्ता लाग्ने बताइएको छ ।
मंगलवार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, वरिष्ठ प्रहरी उपरीक्षक लगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।
बुधवारदेखि फोहर उठ्न थालेको भए पनि यसअघि थुप्रिएका धेरै स्थानमा फोहरको डंगुर उस्तै छ । प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि सबैतिरबाट अपेक्षा गरेको बताए ।
विगत १८ दिनदेखि सिसडोलका स्थानीयवासीले अवरोध गर्दा र नियमित पानी परिरहँदा जाने बाटो बिग्रिएको भन्दै फोहर उठ्न सकेको थिएन । मंगलवारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि बुधवारदेखि फोहर व्यवस्थापन हुन थालेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
लामो समयसम्म फोहर उठ्न नसकेकाले करीब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको पनि वातावरण विभागले जानकारी गराएको छ । कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको २ हप्तापछि फोहर व्यवस्थापनको शुरूआत भएको हो ।
सिसडोलमा विक्रम संवत् २०६२ सालमा २ वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल साइट निर्माण गरिएको थियो तर पटक–पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर हालसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा २ किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।