
नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ बराबरको ७ दिन अवधिको लागि रिपो जारी गर्ने भएको छ।
गएको केही साता देखि बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट रु.२० अर्ब बराबरको रिपो जारी गरेर बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न लगेको हो।
यस उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त "क", "ख" र "ग" वर्गका बैंक वित्तिय संस्थाहरुले भाग लिन पाउनेछन् भने भाग लिने बैंक वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग अनिवार्य रुपमा माष्टर रिपर्चेज एग्रीमेण्ट गरेको हुनु पर्नेछ।
मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१/६२ देखि बोलकबोलको मध्यमबाट रिपो तथा रिभर्स रिपो कारोबार नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीहरु बिच हुँदै आएको छ। रिपो बोलकबोल अन्तर्गत नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक वित्तिय संस्थाहरुलाई तरलता उपलब्ध गराउने गर्दछ।
भाद्र १४ गते सम्म बैंक वित्तिय संस्थाहरुले रु.४,६६० अर्ब निक्षेप संकलन गरी रु.४,२६६ अर्ब कर्जा प्रवह गरेका छन्। भाद्र महिना लागे यता बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.३ अर्बले घटेको छ भने कर्जा प्रवाह रु.४३ अर्बले थप विस्तार भएको छ।
कर्जा प्रवाहमा वृद्धि हुनु तर निक्षेप संकलन घट्दै जानु तरलता व्यवस्थापन समस्याको मुख्य कारण हो। बैंकिङ्ग प्रणालीमा तरलता असहजताको परिणाम स्वरुप भाद्र महिना यता बैंक वित्तिय संस्थाहरुले रु.८.०९ अर्ब बराबरको ओभरनाइट रिपो तथा रु.१०.७४ अर्ब बराबरको अस्थायी तरलता सुबिधा लिएका छन् भने अन्तर बैंक व्याजदर बढेर भाद्र १५ गते ४.८१% पुगेको छ जुन व्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको अस्थायी तरलता सुबिधाको दर ५% नजिक रहेको छ।