
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकरण गरिएको छ।
बुधवार नेपाल एटक एक्सचेञ्ज (नेप्से) र सानिमा लाइफ इन्स्योरेन्स बिच रु.१०० अंकित मूल्यको २ करोड कित्ता साधारण शेयर सूचीकरण सम्बन्धी सम्झौता पश्चात् शेयर सूचीकृत गरिएको हो।
नेप्सेले सूचीकरण विनियमावली, २०७५ बमोजिम भाद्र १५ गतेको निर्णयानुसार सूचीकरण गरेको छ। सूचीकृत शेयर मध्ये १ करोड ४० लाख संस्थापकहरुको शेयर र ६० लाख सर्वसाधारणका लागि जारी गरिएको शेयर रहेको छ।
नेप्सेले सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयरलाई "SLI" सिम्बोल प्रदान गरेको छ। यसैगरी, भोली भाद्र १७ गतेबाट कम्पनीको कारोबार सुरु हुने र ओपनिङ्ग रेन्ज रु.१०३.१७ देखी रु.३०९.५१ कायम हुने भएको छ।
सानिमा लाइफ इन्स्योरेन्सले जारी पूँजी रु.२ अर्बको (३०%) हुन आउने रु.६० करोड रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ६० लाख कित्ता साधारण शेयर मध्ये ३ लाख कित्ता शेयर (कुल निष्काशनको ५%) कर्मचारीहरुलाई र ३ लाख कित्ता शेयर (कुल निष्काशनको ५%) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ५४ लाख कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको थियो।