लमजुङ, १ असार– दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर जीविका चलाउने आम्दानी ।
कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुन्छन् । १६ वर्षको उमेरदेखि बुबा जुठे विकसँग सीप सिकेर पेसामा लाग्नुभएका विक करिब चार दशक काठको ठेकी बनाएरै बितेको बताउँछन्।
ठेकीबाट भएको आम्दानीबाट विकको घरखर्च चलाएर छोराछोरीको शिक्षामा पनि लगानी गरेका छन् । ठेकी बचेरै उनले तीन छोरा विदेशमा पठाएका छन्। माइलो छोरा त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दै छन् ।
काठको ठेकी अहिले प्रतिमानाको रु ३०० मा बिक्री हुन्छ । “एक मानादेखि २२ माना सम्मका ठेकी बनाउछु,” उनी भन्छन्, “एउटा ठेकीबाट रु सात हजारसम्म आम्दानी हुन्छ ।”
कृष्णबहादुरको ठेकी बनाउने पेसालाई आफ्नै भाइले साथ दिएका छन् । उहाँका भाइ मनबहादुर, राजेन्द्र र बुद्धिबहादुर पनि दाजुसँगै ठेकी बनाउँछन् । जङ्गलमा काठ काट्ने देखि लिएर बिक्रीका लागि गाउँसम्म पुर्याउन उनलाई भाइले साथ दिएका । दही जमाउने ठेकीबाहेक सुरही, पुचै, पुङ ठेकी, तुम्वा लगायतका सामग्री बनाउने उनी बताउँछन् ।
“मेरो त उमेर पनि सकियो, काठको ठेकीमै जम्यो जिन्दगी, पढेको छैन, जति जानेको छु बुबाले नै सिकाउनुभयो,’ उनले भने, ‘अब छोराहरु यो पेसामा बाँच्न सक्दैनन् ।’
पहिले ठेकी बनाउन निकै समस्या थियो । पानीबाट मेसिन चलाएर ठेकी बनाउनु पथ्र्यो, अहिले बिजुलीबाट चल्ने मेसिन छ । “वनबाट काठ ल्याएपछि दैनिक पाँचवटासम्म ठेकी बनाउन सकिन्छ,” विकले भने । पर्याप्त ठेकी बनाउन सकेपनि पछिल्लो समय काठका ठेकी बिक्री हुन छाडेको विकले सुनाए । ठेकी बिक्रीका लागि टाढा टाढा गाउँमा जानुपर्ने उनले बताए ।
‘पहिला पहिला ठेकी मगाउन घरमै आइपुग्थे, अहिले गाउँलेको घरमै पुर्याउँदा पनि खरिद गर्न छाडेका छन्,” विकले भने, “अधिकांश गाउँले सहरतर्फ झर्ने र गाउँमा गाई–भैँसी पाल्ने किसान नहुँदा ठेकी बिक्री गर्न समस्या भएको छ ।’
ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको हो । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।
पछिल्लो समय बिक्री वितरणमा कमी हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेसा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, खिर्रो लगायतका काठको प्रयोग हुन्छ । हिजोआज ती काठ कम पाइने र कालीगढसमेत नपाइने हुनाले पनि ठेकीको प्रयोगमा कमी आएको हो । फेरि ठेकी बनाउन समय धेरै लाग्ने र परिश्रम अनुसारको मूल्य नपाइने भएकाले पनि कालीगढले ठेकी बनाउन कम गरेका छन् ।