काठमाडौं, १ असार– राष्ट्रिय जनता पार्टीले दुई नम्बर प्रदेशमा असोज दुई गते सोमबार निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको सत्तारुढ दल र राजपाको बैठकमा असार १४ का लागि यसअघि तय भएको दोस्रो चरणको निर्वाचन दुई नम्बर बाहेकका प्रदेशमा मात्र गर्ने निर्णय भएको थियो । दुई नम्बर प्रदेशमा भने आयोगसँगको छलफलका आधारमा निर्णय गरिने भएको छ जसका लागि आजै तीन बजे आयोगसँग सरकारले छलफल गर्दै छ ।
बैठकमा राजपाले दुई नम्बर प्रदेशमा असोज २ गते चुनाव गर्न प्रस्ताव गरेको राजपा नेता शरदसिंह भण्डारीले बताए । वर्तमान सत्तागठबन्धन राजपाको मागमा सकारात्मक भएर निर्वाचन सार्न सहमत भएको नेता भण्डारीले बताए । उनले चुनाव सार्ने सरकारको निर्णय सकारात्मक भएको बताए । यद्दपी अब हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ कि हुन्न भन्ने बारे उनले केही खुलाएनन् ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार र राजपाबीचको सहमतिलाई हानिकार र त्रुटिपूर्ण भन्दै विरोध गरेको छ । एमाले सचिव प्रदिप ज्ञवालीले कुनै एउटा क्षेत्रमा मात्र चुनाव सार्दा यसले राष्ट्रिय एकतामा आच पु¥याउने बताए । उनले सरकारले नै मधेस अशान्त छ भन्ने पुष्टि गर्न खोजेको भन्दै दुई नम्बर प्रदेशमा असार १४ को चुनाव सार्ने निर्णयको विरोध गरे ।