
महान्यायाधिवक्ता कार्यालयको नवनिर्मित भवन चुहिएर पार्किङस्थलमा ताल जमेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ ।
झण्डै एक अर्ब खर्चिएर बनेको अत्याधुनिक भवन एक वर्ष नबित्दै चुहिएको समाचार सोमवार बिहान लोकान्तरमा प्रकाशित भएपछि अख्तियारको टोलीले अपराह्न महान्यायाधिवक्ताको कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य नेतृत्वको ३ सदस्यीय छानबिन टोलीले महान्यायाधिवक्ता कार्यालय भवनको स्थलगत अवलोकन गर्नुका साथै फोटो र भिडियो समेत खिचेर लगेको छ ।
साथै टोलीले महान्यायाधिवक्ता सहित कार्यालयका अन्य कर्मचारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधिलाई राखेर छलफल समेत गरेको थियो ।

'तलदेखि माथिसम्म अनुगमन गर्दा यहाँ गम्भीर त्रुटि देखियो । यसको तत्काल मर्मत गर्नुस्, होइन भने हामीले छानबिन अगाडि बढाउँछौं,' छलफलमा अख्तियारको टोलीले भनेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
अख्तियार चेतावनीपछि ठेकेदार कम्पनीले तत्काल मर्मतको काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।
महान्यायाधिवक्ता कार्यालयका एक कर्मचारीका अनुसार यसअघिको झरीमा पनि पानी चुहिने समस्या देखिएको थियो ।
पटक–पटक जानकारी गराउँदा समेत ठेकेदार कम्पनीले मर्मतका लागि अटेरी गर्दै आएको थियो ।

सोमवार पार्किङ क्षेत्रमा ताल नै जमेको समाचार लोकान्तरले प्रकाशित गरेपछि अख्तियारले तत्कालै चासो देखाएर स्थलगत अनुगमन गरेको हो ।
शर्मा–समानान्तर जेभीले करीब ९५ करोडमा निर्माण सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते उद्घाटन गरेको अत्याधुनिक भवनमा एक वर्ष नबित्दै पानी चुहिएको हो ।
'बाहिरबाट छिरेको होइन, भवन नै चुहिएर पानी जमेको हो,' महान्यायाधिवक्ताको कार्यालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'झण्डै एक अर्ब खर्चिएको भवन एक वर्ष नपुग्दै चुहिन थालेको छ ।'
यति मात्र होइन, त्यहाँका एक कर्मचारीका अनुसार लिफ्ट समेत ३ महिनादेखि बिग्रिएको छ । सञ्चालनमा आउन नपाउँदै लिफ्ट बिग्रिएर थन्किएको हो ।