
सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नहुने बताएका छन् ।
राष्ट्रियतामाथि प्रश्न उठ्ने विषयमा माओवादीले सम्झौता नगर्ने उनले दाबी गरे ।
मंगलवार वाईसिएलको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी अनुमोदन हुने सम्भावना नरहेको बताएका हुन् । सरकारले बुधवारदेखि शुरू हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने तयारी गरेको छ ।
‘एमसीसीका कतिपय प्रावधानको विषयमा यसअघि नै असहमति राखिएको हो, ती कुरा सम्बोधन भएनन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यथास्थितिमा एमसीसी अनुमोदन हुँदैन, हामी पारित गर्ने पक्षमा छैनौँ ।’
प्रचण्डले एमसीसीकै कारण सत्ता गठबन्धन अप्ठेरोमा नपर्ने पनि दाबी गरे । वाईसीएलको मंगलवारको बैठकले सुमन देवकोटालाई संयोजक तोकेको छ । अधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि फागुनमा महाधिवेशन गर्ने गरी अहिले संयोजक तोकिएको हो ।