०२ असार २०८३, मंगलबार

‘विद्युतीय सवारीसाधनको महत्त्व बढिरहेको छ’

भदौ २३, २०७८
‘विद्युतीय सवारीसाधनको महत्त्व बढिरहेको छ’
प्रतिकात्मक तस्वीर

सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरत लगायतले नेपालमा विद्युतीय सवारीसाधनको महत्त्व बढ्दै गएको बताएका छन् ।

नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरूले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले भने, ‘वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारीसाधनको प्रयोग बढाउँदै जानुपर्छ ।’

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताए । उनका अनुसार यी दुवै संस्थाले निजी सवारी साधनसँग प्रतिस्पर्धा छ ।

उनले भने, ‘निजी सवारीसाधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो ।’

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिए । आफूले धेरै संघर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उनले बताए ।

बस सञ्चालन भएको २ वर्षमा नाफा हुन नसके पनि आफूहरू आशावादी रहेको उनले सुनाए । उनले भने, ‘२ वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन ।’

कार्यक्रममा कम्पनीले यातायात क्षेत्रमा लेख्ने ५ पत्रकारलाई सम्मान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्