काठमाडौँ, २ असार- स्थानीय तहको निर्वाचनमा सहभागी हुने/नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको छ । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१, ५ र ७ मा १४ असारमा नै निर्वाचन गर्ने सरकारको निर्णयसँगै राजपा अध्यक्ष मण्डलका सदस्य दुई चिरामा विभाजित भएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव सरकारको निर्णयको आलोचना गर्दै सशक्त आन्दोलन गर्ने पक्षमा उभिएका छन्, राजधानी दैनिकमा खबर छ ।

तर राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरू महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा सरकारको निर्णयलाई सकारात्मक भन्दै निर्वाचनमा सहभागी हुने पक्षमा उभिएका छन् । अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुर भने तटस्थजस्तो देखिए पनि उनी पनि निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।
महतो र यादवले सरकारको पछिल्लो निर्णयको कडा रूपमा आलोचना गर्दै आन्दोलन स्थगित नगरी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र निर्वाचनमा सहभागी नहुने बताएका छन् ।
‘संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने, मुद्दा फिर्ता, क्षतिपूर्ति, शहीद घोषणालगायतका माग पूरा भएको छैन, हाम्रो माग निर्वाचन मिति सार्ने नभई हाम्रा मुद्दा सम्बोधन गर्नुपर्ने हो,’ सर्लाहीमा रहेका महतोले भने, ‘सरकारको पछिल्लो निर्णय मधेसलाई ‘फोरो और राज करो’ जस्तै छ, यसमा हाम्रो सहमति छैन, हामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउँछौं ।’
तर महेन्द्रराय यादव, भण्डारी, झाले सरकारको पछिल्लो निर्णय सकारात्मक रहेको भन्दै आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने संकेत गरेका छन् । ‘सरकारको पछिल्लो निर्णय सकारात्मक छ, यस विषयमा हामी बैठकमा छलफल गर्छौं,’ झाले भने, ‘तर हाम्रो माग निर्वाचन मिति सार्ने नभई संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने हो ।’ सरकारले पछिल्लो निर्णयले सकारात्मक रहेकाले जारी आन्दोलन स्थगित गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय गरिने झाले बताए ।
यादव, भण्डारी, झा समूहले महतो, यादव समूहलाई पेलेरै जाने र जारी आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने आन्तरिक तयारीलाई तीव्र बनाएका छन् ।
अर्कातर्फ महतो, यादव समूहले यादव, भण्डारी, झा समूहलाई पेलेरै जाने र माग पूरा नभएकाले जारी आन्दोलनलाई सशक्त बनाउने आन्तरिक तयारीमा जुटेका छन् ।