
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा पार्टी राजनीतिको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् ।
बिहीबार ६९ वर्ष पुगेका पूर्वसभामुख समेत रहेका महराले एक वक्तव्य जारी गर्दै स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा हुन् ।
महराले करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी रहँदै आएको उल्लेख गर्दै अब स्वास्थ्य अवस्थाका कारण सक्रिय जिम्मेवारीमा रहन कठिन भएको बताएका छन् ।
उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपासम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्त्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको बताएका छन् ।
महराले आफू केही वर्षयता ‘एट्रोफी’ सम्बन्धी रोगबाट पीडित रहेको उल्लेख गरेका छन् । नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको र त्यसका कारण पार्टीका नियमित गतिविधि तथा जिम्मेवारीमा विगतझैँ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न कठिन भएको उनले बताएका छन् ।
स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण आफूले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको महराले जनाएका छन् । उनले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाकै परिणाम भएको स्पष्ट पारेका छन् ।
वक्तव्यमा उनले पार्टी जीवनका अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
पार्टीमा बिताएका वर्ष, आन्दोलनका स्मृतिहरू, सहकर्मीहरूको आत्मीयता तथा देश र जनताप्रतिको प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त नहुने पनि उनले बताएका छन् ।
महराले नयाँ पुस्ताका ऊर्जाशील युवाले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन् ।
