
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टमाथि ३-२ को अविश्वसनीय पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
२-० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा तीन गोल गर्दै जित हात पारेको हो।
एटलान्टा स्टेडियममा भएको यस खेलको सुरुवात अर्जेन्टिनाका लागि सुखद रहेन। खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
खेलको २२ औँ मिनेटमा अर्जेन्टिनाले बराबरी गर्ने सुवर्ण अवसर पाएको थियो, तर कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले बचाएपछि अर्जेन्टिना थप दबाबमा परेको थियो।
खेलको ६७ औँ मिनेटमा मोस्ताफा जिकोले काउन्टर अट्याकमा दोस्रो गोल गरेपछि साविक विजेता अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा पुगेको थियो। तर, खेलको अन्तिम १२ मिनेटमा अर्जेन्टिनाले आफ्नो च्याम्पियन छवि प्रदर्शन गर्यो। ७९ औँ मिनेटमा मेस्सीको क्रसमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसको चार मिनेटपछि अर्थात् ८३ औँ मिनेटमा मेस्सी आफैँले सानदार गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
खेलको सबैभन्दा नाटकीय मोड इन्जुरी समयमा देखियो। इजिप्टले अर्कोतर्फ पेनाल्टीको माग गरिरहेका बेला अर्जेन्टिनाले काउन्टर अट्याक गर्यो र ९०+२ मिनेटमा एन्जो फर्नान्डेजले लाउटारो मार्टिनेजको पासमा हेडिङमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को जित दिलाए।
अर्जेन्टिनाको यो जितपछि इजिप्टका खेलाडी र प्रशिक्षकहरू निकै आक्रोशित बनेका थिए। विरोध गर्ने क्रममा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसन र गोलकिपर शोबेइरले पहेँलो कार्ड पाए भने इजिप्टको कोचिंग स्टाफका एक सदस्यले रातो कार्ड समेत खानुपरेको थियो।
यो जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ भने उसले स्विजरल्याण्ड वा कोलम्बियामध्ये एकको सामना गर्नेछ। आजको गोलसँगै लियोनल मेस्सी यस विश्वकपमा ८ गोलसहित शीर्ष स्थानमा उक्लिएका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ।
उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्टको विश्वकप यात्रा भने टुङ्गिएको छ।