अछाम, २ असार- साँफेबगर नगरपालिका ८ मियाँ टोलमा २७ परिवार मुस्लिम समुदायका घरमा कुनै पार्टीका झन्डा टाँगिएका छैनन् । यसको अर्थ उनीहरूले निर्वाचन बहिष्कार गरेका भने होइनन्, आजको कान्तिपुरमा खबर छ ।
निर्वाचनको मुखैमा अरू बस्तीमा झन्डाले रंगिएका बेला मुस्लिम बस्ती भने झन्डाविहीन छ । यो बस्तीमा निर्वाचन प्रचारप्रसारका लागि प्रमुख दलका उम्मेदवार आउने क्रम जारी छ ।
त्यहाँ आउने सबै उम्मेदवारलाई उनीहरू स्वागत गरेर पठाउँछन् । ती उम्मेदवारलाई मुस्लिम समुदायको एउटै अनुरोध छ, ‘हामी मनले खाएको उम्मेदवारलाई मत दिन्छौं, कृपया हाम्रो घरमा पार्टीको झन्डा नराखिदिनुहोला ।’
सबै टोलमा पार्टीको झन्डा राखेको छ, तपाईंले किन नराखेको ? उनीहरूको जवाफ थियो, ‘हामी सबै दाजुभाइ मिलेर बसेका छौं, हाम्रो फरकफरक विचारधारा पनि छ, तर हामी घरको धुरीमा झन्डा राखेर विभाजन ल्याउन चाहन्नौं,’ स्थानीय नजिर मियाँले भने, ‘घरघरमा झन्डा राखे पछिसम्म मनमुटाव आउन सक्छ ।’