
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रवारदेखि शुरू भएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे ।
उनले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत् नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिए । उनले गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिए ।
पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा १ महिलासहित ६ जनाको प्रतिस्पर्धा हुँदैछ । चुनावी कार्यक्रमअन्तर्गत शुक्रवार नै मनोनयन दर्ताको कार्यक्रम छ । शनिवार दाबी विरोध एवं अन्तिम नामावली प्रकाशन हुनेछ भने र आइतवार मतदान हुने निर्वाचन अधिकृत आरसी बिमलले जानकारी दिए । चुनावमा कुल मतदाता १ हजार ३७० छन् ।
महानगरको सभापति पदका लागि सुरेन्द्रमान विजुक्छें, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमाल आकांक्षी छन् ।
यीमध्ये केन्द्रमा देखिएको गुटअनुसार महानगर पनि गुटअनुरुप मनोनयन दर्ता हुने तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर २ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबाट ३ जना आकांक्षी छन् ।
जसमा गंगाधर पराजुली, मिलन तिवारी देउवा निकट हुन् । पौडेल खेमाबाट सुरेन्द्रमान विजुक्छें, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला छन् । अर्की ज्योति हमाल कतै पनि खुलेकी छैनन् ।