
काठमाडौं, २ असार - एसईईको नतिजा सार्वजनिक भएको छ । लेटर ग्रेडमा अंक प्राप्त भएको छ । कतिलाई यस्तो अंक मात्रै चित्त नबुझ्न पनि सक्छ । तर एसईईको नतिजालाई एउटा तरिका अपनाएर प्रतिशतमा पनि ढाल्न सकिन्छ । प्रतिशतमा ढालेको जिपीए लगभग लगभग मिल्न आउँछ । जिपीए प्रणालीको माथिल्लो अंक ४ हो । अर्थात १०० अंकलाई ४ मा ढालिएको हो ।
यसका लागि ऐकिक नियम लगाउनुपर्छ । ऐकिक नियम लगायो भने प्रशितमा पनि नतिजा अनुमान गर्न सकिन्छ । एक दुई अंक चाहिँ तलमाथि हुन सक्छ । नतिजामा प्राप्त सबै जिपीएलाई चाहिँ प्रतिशतमा निकाल्न सकिँदैन । तर प्रत्येक विषयको प्राप्त जिपिएलाई प्रतिशतमा ल्याउन सकिन्छ । मार्कसिटमा पोइन्ट ग्रेडमा प्रत्येक विषयको जिपीए उल्लेख गरिएको छ ।
जस्तै नेपाली विषयमा तपाईंले ३.२ ग्रेड ल्याउनुभएको छ भने त्यसलाई प्रतिशतमा लैजान सकिन्छ । ४ बराबर एक सय भएपछि एक २५ हुन आउँछ । तपाईंले प्राप्त गरेको ३.२ लाई २५ ले गुणा गर्नुभयो भने ८० हुन्छ । यस कारण तपाईंले प्राप्त गरेको अंक ८० हुन आउँछ । तर यसका एक दुई अंक तलमाथि चाहिँ हुन सक्छ । अब प्रत्येक विषयमा यसै गरि अंक निकाल्नुहोस् ।
कुल ८०० अंकमा तपाईंले ल्याएको अंक कति आयो ? सोही अनुसार प्रतिशत निकाल्न सकिन्छ । प्रत्येक विषयमा ल्याएको अंक जोड्नुहोस् । सबैमा गरेर तपाईंले ६ सय अंक ल्याउनुभयो भने तपाईंले ७५ प्रतिशत प्राप्त गर्नुभयो ।