१६ असार २०८३, मंगलबार

खुलामञ्चबाट विप्लवको चेतावनी- जबर्जस्ती एमसीसी लागू गर्न खोजे अहिलेको झिल्को राँको बन्ने छ

खुलामञ्चबाट विप्लवको चेतावनी- जबर्जस्ती एमसीसी लागू गर्न खोजे अहिलेको झिल्को राँको बन्ने छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबर्जस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । 

जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसीसी थोपर्न नदिने उनले बताए ।

अमेरिकी आर्थिक सहयोग एमसीसी खारेजीको माग गर्दै सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेकोले लागू गर्न नदिने बताएका हुन् । 

‘एमसीसी सम्झौता जबर्जस्त लादिँदै छ, हामीले प्रतिबन्धको समयमा पनि यसको विरोध गरेका थियौं । एमसीसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । कुनै पनि हालतमा एमसीसी लागू गर्न दिँदैनौँ,’ विप्लवले भने ।  

आफूहरू अहिलेको संविधानमा सहमति नभए पनि एमसीसी बुर्जुवा संविधान भन्दा माथि हुन्छ भन्नु आपत्तिपूर्ण रहेको बताए । 

‘एमसीसीविरुद्ध आज काठमाडौंमा उत्रिएको विरोध झिल्को हो । एमसीसीलाई जबर्जस्ती नेपालीको टाउकोमा थोपर्न खोजियो भने यो झिल्को राँको बन्छ, राँको,’ विप्लवले भने । 

विप्लवले एमसीसीविरुद्ध सबै पार्टीका इमान्दार कार्यकर्ता एकजुट हुनुपर्ने बताए । ‘अमेरिकाले दिएको ५० करोड डलरले नेपालमा कायापलट हुनछ ? एमसीसीबारे हामीले नबुझेको होइन, जनताले नबुझेको होइन मात्र डलरले आँखा बन्द भएको हो,’ विप्लवले भने, ‘आजैको दिनबाट साम्राज्यवादीको घेराबन्दीविरुद्ध लड्नु पर्छ । तपाईं देश रोज्नु हुन्छ कि अमेरिका ? स्वाभिमान रोज्नुहुन्छ कि पैसा ?’

विरोध सभालाई सीपी गजुरेल, ऋषि कट्टेल, सीपी मैनाली लगायतले एमसीसी खारेज नभएसम्म आन्दोलन गर्नुपर्ने बताएका थिए । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा विरोध सभा आयोजना गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्