१५ असार २०८३, सोमबार

वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो

भदौ २९, २०७८
वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो
फाइल तस्वीर

बिचौलिया  : के कामले आएको ?
पत्रकार     : श्रम स्वीकृति गराउन।
बिचौलिया  : कुन देश जाने ?
पत्रकार     : मलेसिया
बिचौलिया  : अनलाइन फाराम भरिदिन्छौं। टोकन पनि दिन्छौं। भित्र लाइन लाग्नुपर्दैन।
पत्रकार     : टोकन त कार्यालयले दिने होइन र ?
बिचौलिया  : काँ हुनु ! हामीसँग टोकन छ। सबै काम हामी गराइदिन्छौं।

यो संवाद वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंको गेट अगाडि बिचौलिया र अन्नपूर्ण पोस्ट् टोलीबीचको हो। हामी सोमबार बिहान ७:५० बजे पुग्दा एक बिचौलिया सेवाग्राही सम्झिएर बाटो छेक्न आइपुगिन्। हामीले सेवाग्राहीकै रूपमा कुरा गर्‍यौं। ‘कार्यालय पुगेर आउँछौं’ भन्दै हामी अघि बढ्यौं।

गेटमा गार्डले प्रश्न गरे– ‘के काम छ ?’ 

हामीलाई पछ्याउँदै आएका एक पुरुषले हात समाउँदै भने, ‘ल हामी तपाईंलाई सस्तोमा कुनै पनि काम गराइदिन्छौं।’

श्रम स्वीकृतिका लागि जानेलाई बिचौलियाले बाटो छेकेर हैरान पार्छन्। अनलाइन फाराम भर्ने नाममा उनीहरू सेवाग्राहीलाई लुटिरहेका छन्। वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन तथा नवीकरण गर्नुपर्ने हुन्छ। तर, बिचौलियाले १ हजारदेखि १५ सयसम्म बढी रकम असुली गर्छन्। 

म्यादी जीवन बिमा गर्दा १८–३५ वर्षकालाई ३ हजार ७ सय ८, ३६–५० वर्ष समूहकालाई ४ हजार ९ सय ३१ र ५१–६४ सम्मलाई ९ हजार ४ सय ६३ तोकिएको छ। सबै उमेर समूहले श्रम स्वीकृति गर्दा वैदेशिक रोजगार कल्याण कोषमा १ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्छ। श्रम स्वीकृतिको अनलाइन फाराम भर्दा ३ सयसम्म लिन पाउने कार्यालयले तोकेको छ। तर, बिचौलियाले बेसी रकम असुल्छन्। कसैलाई ५ सयभन्दा बढी त कसैलाई १ हजार वा अलमलिएको देखे भने २ हजार रुपैयाँसम्म बढी लिने रहेछन्। 

जीवन बिमा र कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनबाट तिर्न सक्ने सुविधा दिइएको छ। बिचौलियाले यसलाई नै सेवाग्राही ठगी गर्ने ‘हतियार’ बनाएका छन्। साइबरवालाले कार्यालय वरिपरि मान्छे खटाएर सेवाग्राही तान्ने गर्छन्। अनलाइन प्रणालीले श्रम स्वीकृति गराउन मध्यरातदेखि लाम लाग्नुपर्ने बाध्यता हटाएको छ। तर, पाँच मिनेटमा एउटा 

फाराम भरिदिएबापत बिचौलियाले हजारौं रकम असुलिरहेका छन्। 
००० 

‘दाङका सरड पुन मगर बिदामा कतारबाट फर्किएका रहेछन्। ‘छुट्टीमा आएको छु। डेढ महिनामा फर्कने हो। त्यसैले श्रम स्वीकृति गराउन आएको’, उनले भने, ‘हामीलाई कति दु:ख छ भन्ने तपाईंलाई के थाहा ? फ्रि—भिषा, फ्रि–टिकट नारा दिएर एजेन्टले जाने बेला लुट्छन्।’

खोटाङका रमेशबहादुर कार्कीले विदेश पुगेर अरूको गुलामी गर्नुपर्ने दुखेसो पोखे। ‘तर, आफ्नै देशमा बिचौलियाले बाटो घेरेर लुटेको देख्नुभयो होला। यहाँ लुट चल्छ, लुट’, उनले भने। उनी गेट अगाडि ८:१७ मा भेटिएका थिए। 

नवलपरासीका विष्णु ढकालले दुई वर्षअघिको घटना स्मरण गरे। ‘पहिला रातभरि लाम लाग्नुपथ्र्यो’, ढकालले भने, ‘तर, अहिले अनलाइनले सजिलो भयो। धेरै सुधार भयो। बिचौलियालाई ठेगान लगाए यो सेवा गुणस्तरीय हुन्थ्यो।’ सिरहाको सारश्वरका शत्रुधन महतो १० पटक विदेश गएर फर्किएका रहेछन्। अब अन्तिम पटक जान लागेको महतोले सुनाए। ‘विदेशमा कमाएर जग्गा किनेँ। घर बनाएँ’, उनले भने, ‘तर, आफू नहुँदा छोरो दुव्र्यसनमा फस्यो। बल्ल सुधारेँ। ऊ कक्षा ११ मा पढ्दै छ।’
०००

सडकमा ८:४५ बजेतिर एक जना चिच्याउँदै थिए– ‘हुलाक टिकट, हुलाक टिकट।’ 

‘टिकटको कति रुपैयाँ ?’

‘२०’

उनको हातमा भने १० रुपैयाँको हुलाक टिकट थियो।

‘यो त धेरै महँगो भयो ?’

‘त्यसो भए हुलाकमा जानुस्।’

सेवाग्राहीले टिकट किन्नुको विकल्प थिएन। 

हुलाक टिकट किन्दा पनि सेवाग्राहीसँग दोब्बर मूल्य उठाइएको छ।
०००

कार्यालयको गेट ९ बजे खुल्यो। सेवाग्राही भित्र पसे। ९:३० बजे एक प्रहरी हवल्दार आए। सेवाग्राहीलाई भने– ‘ठेलमठेल गरेर लाइन नलाग्नुस्।’ लाम व्यवस्थित गरे। 

सरसफाइ गर्ने कर्मचारी ९:४३ मा काम गर्दै भेटिए। लगत्तै दुई कर्मचारी १५ नम्बर कोठामा आए। सूचना प्राविधिक शाखामा सेवाग्राही लामबद्ध थिए। ‘व्यवस्थित ढंगले लाइन नबसे काउन्टर खोल्दिनँ’, ती कर्मचारीले भने, ‘प्राविधिक शाखा हो हतारमा काम हुँदैन।’

कार्यालय आइसक्नुपर्ने समयमा कम कर्मचारी मात्र देखिए। अन्तिम श्रम स्वीकृति शाखा (ख) कतारमा १०:२६ बजेसम्म कोही कर्मचारी थिएनन्। १०:४६ मा प्रशासन तथा सुनुवाइ शाखामा पुग्दा यस्तै देखियो। एक कर्मचारीले भने, ‘फाँटका प्रमुख कामले बाहिर जानुभएको छ।’
०००

काभ्रे बनेपाकी ज्योत्सना नापितको काम तीन दिनमा पनि बनेको रहेनछ। ‘आज पनि बन्ने छाँट छैन। कहिले रिसेट भन्छ, कहिले रिजेक्ट भन्छ। खै के हो ?’, मध्याह्न १२ बजे उनी भन्दै थिइन्, ‘हामी नपढेका मानिसले धेरै बुझ्दैनौं।’ तब उनले झ्यालतिर हेरेर खुइय सुस्केरा हालिन्। उनी आमाको निधनपछि १५ दिनको बिदामा आएकी रहेछन्। उनको कम्पनी परिवर्तन भएका कारण श्रम स्वीकृति मिलिरहेको छैन। सुरुका दिन बाटैमा बिचौलियाले समाते। सबै काम बाहिरबाटै हुन्छ भनेर अलमलाए। सबै काम ७ हजारमा सकिन्छ भने। अहिले हरेक दिन थप ५ सय रकम मागिरहेको उनले सुनाइन्।  अन्नपूर्ण पोस्टमा अजवी पौड्याल, तुलसी सुवेदी र राजकरण महतोले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्