काठमाडौं, २ असार –सरकारले आगामी बुधवार, विहीवार र शुक्रवार (यही असार ७, ८ र ९ गते) भूकम्पपीडितलाई १ हजार ५ सय ट्याक्सी वितरण गर्ने भएको छ ।
ललितपुर महानगरपालिकास्थित च्यासलबाट सार्वजनिक समारोहका बीच ती ट्याक्सी भूकम्पपीडितलाई वितरण गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले लोकान्तरलाई जानकारी दिए । तीन छुट्टाछुट्टै दिनमा छुट्टाछुट्टै जिल्लाका लागि ट्याक्सी वितरण गरिने विभागले जनाएको छ ।
विभागले गोलाप्रथामार्फत २०७२ सालको भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई ती ट्याक्सी वितरण गर्न लागेको हो ।
२ वर्षअघि २०७२ जेठ २८ गते नै सरकारले भूकम्पप्रभावितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । तर, विभिन्न कारणले ट्याक्सी वितरणमा ढिलाई हुँदै आएको छ ।
ट्याक्सीका लागि १ लाख ४९ हजार आवेदन प्राप्त भएको विभागका प्रवक्ता पाण्डेले बताए । विभागले गत वर्ष नै ट्याक्सी वितरणका लागि आवेदन संकलन गरेको थियो ।
विभागले भूकम्पबाट अतिप्रभावित दोलखा, गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, ओखलढुङ्गा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरे पनि मन्त्रालय तथा विभागको प्रविधिक तयारीको ढिलाइका कारण ट्याक्सी वितरण प्रक्रिया लम्बिँदै आएको थियो ।
विभागले दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितलाई ५ सय १३ वटा र नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई ४ सय ९१ वटा ट्याक्सी वितरण गरिने जनाएको छ ।
त्यस्तै, विभागले गोरखा, रसुवा, धादिङ, मकवानपुर, ओखलढुंगा, काठमाडौं, भक्तपुर र ललितपुरका भूकम्पपीडितलाई ४ सय ९६ वटा ट्याक्सी वितरण गरिने जनाएको छ ।
प्रत्येक जिल्लाबाट तोकिएको ट्याक्सी संख्या र प्राप्त आवेदनका आधारमा हिसाव गरेर ती ट्याक्सी वितरण गरिने विभागले जनाएको छ ।