
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुधवार बुटवल आउने भएका छन् ।
बुटवल–१३ देवीनगर हुने भेलालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रूपन्देहीले जनाएको छ ।
जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने कार्यक्रम रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले जानकारी दिए । भेलाको तयारी पूरा भएको चापागाईले बताए ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, पूर्व मन्त्री तथा अर्का उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाएर कार्यक्रम हुने अध्यक्ष सुवेदीको भनाइ छ । एमाले विभाजन भएपछि पहिलो पटक ओलीको उपस्थितिमा भेला हुन लागेको हो । एमाले विभाजनको असर रूपन्देहीमा न्यून छ ।
गत हप्ता बुटवलमै एमालेले प्रदेश कमिटीको बैठक सम्पन्न गरिसकेको छ ।