१२ साउन २०८३, मंगलबार

नर्वेमा सम्पन्न आमनिर्वाचनमा वामपन्थीहरूको प्रचण्ड बहुमत

भदौ २९, २०७८
नर्वेमा सम्पन्न आमनिर्वाचनमा वामपन्थीहरूको प्रचण्ड बहुमत

नर्वेको वामपन्थी गठबन्धनले आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको छ । 

लेबर पार्टीका नेता जोनास गाहर स्टोरको नेतृत्वमा रहेको गठबन्धनले मध्यमार्गी दक्षिणपन्थी गठबन्धनलाई सत्ताच्युत गरेको हो । कन्जर्भेटिभ प्रधानमन्त्री एर्ना सोल्बर्गको गठबन्धन सन् २०१३ देखि सत्तामा थियो । 

‘हामीले प्रतीक्षा गरेका थियौं, आशा गरेका थियौं र निकै मेहनत गरेका थियौं । अब हामी भन्न सक्छौं– हामी सफल भयौं,’ स्टोरले आफ्ना समर्थकहरूलाई बताए । 

सोल्बर्गले हार स्वीकार गरेपछि स्टोरले सम्बोधन गरेका हुन् । स्टोर आगामी प्रधानमन्त्री बन्ने सम्भावना छ । 

कुल खसेको मतमध्ये ९७.५ प्रतिशत गनिसक्दा लेबर र चार अन्य वामपन्थी दलहरूले १०० सीट जित्न सक्ने देखिएको निर्वाचन निर्देशनालयले प्रक्षेपण गरेको छ । 

नर्वेको संसदमा कुल १६९ सीट छ र बहुमतका लागि ८५ सीट चाहिन्छ । 

यसपालिको आमनिर्वाचनमा तेल उद्योग मुख्य विषय थियो । नर्वे पश्चिम युरोपको सबभन्दा ठूलो तेल तथा ग्यास उत्पादक हो । 

स्टोरले तेलमा आधारित अर्थतन्त्रको विकल्प खोज्ने बताएका थिए भने ग्रीन पार्टीले तेल उत्पादन तत्काल रोक्ने आह्वान गरेका थिए । कन्जर्भेटिभहरूले पनि नर्वेलाई धनी बनाउने जीवाश्म इन्धनबाट क्रमशः विकल्पतिर जाने कुरा राखेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्