२७ असार २०८३, शनिबार

एक दिन गाउँपालिका हाँकेकी सुस्मिता भन्छिन्– नेतृत्व गर्न अवसर आयो भने पछि हट्दिनँ

भदौ २९, २०७८
एक दिन गाउँपालिका हाँकेकी सुस्मिता भन्छिन्– नेतृत्व गर्न अवसर आयो भने पछि हट्दिनँ

मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवले मंगलबार एक दिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बालदिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले एक दिनका लागि आर्थिक र प्रशासनिक बाहेकको अधिकार हस्तान्तरण गरेर सुस्मितालाई काम गर्ने अवसर प्रदान गरेका थिए ।

सुस्मिताले पनि आफूले पाएको अधिकारको भरपुर प्रयोग गरिन् । सुस्मिताले कर्मचारीलाई निर्देशन गर्नेदेखि कार्यपालिकाको बैठक समेत राखिन् । अध्यक्षको अधिकार के हो भनी प्रमुख प्रशासकीय अधिकृत डम्बर वल्लभ बरालसँग समेत उनले सोधेकी थिइन् । निर्वाचित जनप्रतिनिधि सहित बैठकमा बसेकी उनले गाउँपालिकाका कामलाई ढिलासुस्ती छिटो, छरितो र सहज रूपमा कसरी बनाउने भनेर छलफल समेत गरिन् ।
 उनले कर्मचारीहरूलाई काममा ढिला सुस्ती नगर्न समेत निर्देशन दिइन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालले सहयोग गरेका थिए । बैठकपछि एकदिने अध्यक्ष सुस्मिताले स्वास्थ्य चौकी बुढीगंगा र कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरेकी थिइन् ।

स्वास्थ्य चौकी अनुगमन गर्दै उनले त्यहा आउने सेवाग्रहीलाई स्वास्थ्यचौकीले दिएको सेवा सुविधाको बिषयमा जिज्ञासा लिएकी थिइन् । उनले स्वास्थ्यकर्मीहरुलाई सेवाग्राहीलाई भरपर्दाे र सहज सेवा प्रदान गर्न निर्देशन दिइन् ।

कार्यपालिकाको बैठक बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बाल क्लबले पेस गरेको प्रस्ताव उपर छलफल गरी ५० हजार बजेट निकासा दिने निर्णय समेत एक दिने अध्यक्षले गरेकी छिन् ।

बैठकमा उनले गाउँपालिकामा निर्माण हुने भौतिक संरचना बालमैत्री बनाउने, सन् २०२५ भित्र गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका घोषणाका लागि आजैबाट काम सञ्चालन गर्ने र लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाभरिका सबै विद्यालयमा सरसफाई अभियान सञ्चालन गरी सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिन् ।

उक्त निर्णयपछि सुस्मिताले एक दिने अध्यक्षको जिम्मेवारी गाउपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरिन् । एक दिनका लागि भएपनि गाँउपालिकामा आउन पाउदा खुसी लागेको उनले बताइन् ।
उनले गरिबीको रेखामुनि रहेका बालबालिकालाई यसरी नै अगाडि बढाउन खोज्ने हो भने महिला पनि नेतृत्वमा आउन सक्ने बताइन् । उनले भनिन्, ‘अहिले पनि हाम्रो समाजमा बालविवाह बढ्दो अवस्थामा छ, त्यसलाई रोक्नु चुनौतिपूर्ण रहेको छ । आफूले कुनै जिम्मेबारी पाए नेतृत्व गर्न सक्छु भन्ने लागेको सुस्मितको भनाइ छ ।

बालबालिकाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यले एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए । उनले बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउनुका साथै राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम गरिएको बताए ।
गाउँपालिका अध्यक्ष माझीले बालिका सुस्मिताले गरेको तीन बुँदे निर्णय कार्यपालिको शुक्रवार बस्ने बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने बताए । बालिकासँग काम गर्न पाउँदा केही कुरा सिक्ने अवसर मिलेको प्रमुख प्रशासकीय अधिकृत  बरालले बताए ।

बालबालिका, किशोरी, महिला, विपन्न, दलित, सुकुम्वासीको गाउँपालिकाप्रतिको बुझाइ र अपेक्षाकोबारे जान्ने अवसर प्राप्त भएको गाउँपालिका अध्यक्ष माझीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्