
सवारीसाधन दुर्घटनामा कैयौं व्यक्तिको ज्यान गएको सुनिन्छ । बससँग ठोक्किएर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ ।
भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी जीवितै बाहिर निस्किए ।
राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले तीब्रगतिमा ‘ओभरटेक’ गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसकेका थिए ।
दुर्घटना भएर बस रोकिएपछि एकछिनमा मोटरसाइकल चालक बसमुनिबाट शरीरको माटो पुछ्दै बसबाहिर निस्किए । त्यति ठूलो दुर्घटनामा मोटरसाइकल चालक सकुशल बाहिर निस्किएपछि सबैले अचम्म माने ।
सकुशल बाहिर आएका मोटरसाइकल चालकलाई वरिपरिका मान्छेले मोटरसाइकल उठाउन सघाए । लगत्तै मोटरसाइकल चालक आफैं मोटरसाइकल चलाएर गन्तव्यतिर लागे ।