
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तन मनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गरे ।
अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरूसँगबीचको संवाद, सहमति र समझदारी नै जोड दिने पनि स्पष्ट पारे । निर्वाचन प्रणाली, शासकीय स्वरूप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरूले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढी जोड दिएर उठान गर्ने गरेको पनि स्मरण गराए ।
अध्यक्ष प्रचण्डले आफू २ पटक प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा प्रस्ताव नै लगेको पनि बताए तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूले सो प्रस्ताव संसदमा छलफल गर्न समेत नदिएको गुनासो छ ।
उनले भने, ‘जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने हुन पनि सक्छ । यो विकृत बुर्जुवा प्रणालीलाई बदल्नका निम्ति हामी सडकमा जानुपर्ने हुन सक्छ तर पनि हाम्रो कोसिस सकेसम्म राजनीतिक दलहरूबीच संवाद, सहमति र समझदारीबाटै संविधान संशोधन गर्दै जानेमै हाम्रो जोड छ । जरुरी पर्यो भने हामी फेरी एकचोटी किनभने हामीले जति पनि सफलता प्राप्त गरेका छौं, सडकबाटै प्राप्त गरेका छौं । हिजो युद्ध भनेको पनि सडक संघर्ष नै हो । अहिले प्रतिगामी विरोधी आन्दोलन पनि सडकबाटै प्राप्त गरेको सफलता हो भने भोली संविधान संशोधनका लागि पनि जरुरी पर्यो भने हामी सडकमा जान्छौं । यो कुरा सबै कमरेडहरूलाई विचार गरी राख्न, चिन्तन गरिराख्न अपिल गर्दछु ।’
अध्यक्ष प्रचण्डले सडक आन्दोलनकै बलमा आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमनबाट मुलुकलाई जोगाउने र संविधानको रक्षा गर्ने सफलता हात पारेको पनि बताए । उनले जनताको बलमा प्रतिगमन विरोधी कदमलाई पराजित गर्न सफल भएपनि हाल आएर पार्टीभित्र आफ्नो व्यक्तिगत स्वार्थ, पदका लागि मरिहत्ते गर्नेहरूको जमात बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टीभित्रै देखिने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रवृत्तिविरुद्ध जुधेर मात्रै नेता पोष्टबहादुर बोगटीहरूले देश र जनताको मुक्तिको निम्ति देखेका सपनालाई पूरा गर्न सकिने पनि बताए ।
अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताए ।