
१ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई ‘प्रतिमान–निमा स्मृति प्रतिष्ठान’ भैरहवा रुपन्देहीले १ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री आचार्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्मृति थापाले बुधवार सामग्री हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण गरिएका सामग्रीमा फेससिल्ड, स्वास्थ्य गाउन, मास्क, डिजिटल थर्मामिटर, पीपीई, आकस्मिक शय्या लगायतका विभिन्न ११ वटा सामग्री छन् ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले आफ्नो लागि सबैले कार्य गर्ने तर समाजको सेवा गर्नु नै महत्त्वपूर्ण एवं मानवहितको ठूलो कार्य भएको बताए । उनले प्रतिष्ठानले यस क्षेत्रका जनताको हित र आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा थप सहयोग प्राप्त हुने अपेक्षा गरे ।
सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्राप्त स्वास्थ्य सामग्रीहरू प्रदेशका जिल्लामा आवश्यकताअनुसार वितरण गर्ने जानकारी दिए । प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले प्रदेशका जनतालाई कोरोना महामारीबाट बचाउनका लागि आगामी दिनमा खोपको व्यवस्था गर्ने जानकारी दिए ।
प्रतिष्ठानका निर्देशक धर्म केसीले प्रतिष्ठानले ७ प्रदेशमध्ये लुम्बिनी प्रदेशमा केही दिनमा स्वास्थ्य सामग्री वितरण गर्ने जानकारी दिँदै गएको वर्ष केन्द्रसहित ७ प्रदेशमा ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेको बताए ।