१४ असार २०८३, आइतबार
बहसमा एमसीसी

'मूर्ख बहस नगरौं, एमसीसी नआउँदा नै हामीलाई शान्ति हुन्छ'

भदौ ३१, २०७८
'मूर्ख बहस नगरौं, एमसीसी नआउँदा नै हामीलाई शान्ति हुन्छ'

अहिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच ठूलो लडाईं चलिरहेको छ । यो काममा अमेरिकाले गलत गरेको भन्ने मेरो ठहर छ ।

नेपालमा एमसीसी जनताले बुझेनन् । विरोध भयो निकै दरो गरी । बुझाउने काम त एमसीसी कै हो नि ! के हो एमसीसी ? सामान्य बाटो या बिजुली सञ्जाल ? कि कुनै रणनीतिक योजना हो यो ? अमेरिकीहरूले गञ्जागोल गरेका छन्, यस विषयमा । अमेरिकी मन्त्रीहरू भन्छन् – यो हाम्रो रणनीतिक योजनाको अंग हो । दूतावास भन्छ– होइन, यो विकासको कार्यक्रम मात्र हो । 

यसको कार्यालय खुलिसकेको छ रे ! यत्रो आयोजनालाई लुकाउनु किन ? अनि अनेक गरेर जबरजस्ती अमेरिकाबाटै एमसीसीको हाकिम पठाएर हाम्रो देशका नेताहरूलाई धम्क्याउने काम किन गर्नु ? के अमेरिकालाई आफ्नो दूतावासमाथि विश्वास छैन ? त्यस्तो नहुनु पर्ने । फेरि अमेरिकाबाट टोली प्रमुखले के अब नेपाललाई अमरिकी सहयोग नचाहिने भो ? भनी धम्कीपूर्ण भाषामा बोल्नुको अर्थ के हो ? हामीमा त्यत्रो ठूलो अहंकार छैन । हामी सहयोग लिन्छौं । तर हामी कसैबाट पनि नेपाली संविधानलाई मिच्ने शर्तसहितको सहयोग लिँदैनौं ।

अमेरिका ठूलो छ । शक्तिशाली पनि छ । तर त्यो शक्तिशाली अमेरिकाले हामीलाई धम्क्याउन पाउँदैन । अमेरिका जति ठूलो भए पनि त्यसको र हाम्रो सम्प्रभुता ठूलोसानो वा तलमाथि छैन । चीन र भारतको च्यापमा बसेको नेपालले भारत अथवा चीनबाटै पनि यस्तो सम्झौताको प्रस्ताव आउँछ भने त्यसलाई स्वीकार्दैन ।

भारतसँग केही सानातिना कुरामा विवाद भैरहेको भएपनि तिमेरको संविधानभन्दा माथिको यो सम्झौतामा सही गर र यसलाई संसदबाट सर्वसम्मतिबाट पारित गर भन्यो भने पनि हामी त्यो काम गर्दैनौं । म संसद्मा छैन अहिले । तर हाम्रा सबै सांसद बिक्रीमा छैनन् । उनीहरूलाई बुझाउन नसकिने पनि होइन । एमसीसी भनेको अमेरिकाको एउटा कम्पनी हो । विकासशील देशहरूलाई हामी यसैगरी विभिन्न तरिकाले सहयोग गर्छौं । एमसीसीभित्र अर्को कुनै एजेण्डा लुकाइएको छैन भन्ने कुरो सबै अमेरिकीको मुखबाट निस्किएको भए शायद यो विवाद आउँदैन थियो होला । सरकारका चार प्रतिनिधिहरूको चार मुखले अलग–अलग कुरो निकालेर नेपाली जनता रनभुल्ल परे ।

अमेरिकी दूतावासले निकालेका प्रेस विज्ञप्तिलाई सबैखाले अमेरिकनले मानिदिएका भए, अथवा अमेरिकी सहयोग परियोजनाका बारेमा हाम्रो दूतावासले नै भन्छ भनिदिएको भए एकजना नेपालीले पनि प्रश्न उठाउने थिएनन् । दूतावास सामान्य सहयोगको कुरा गर्ने अनि दूतावासका कर्मचारीहरूलाई नियुक्ति दिने मन्त्रीचाहिँ यो सामान्य सहयोगको कुरो होइन, हाम्रो रणनीतिक योजना हो भन्ने । जब मन्त्री र दूतावासका मान्छेको कुरा जुध्छ भने मान्छेले मान्ने भनेको मन्त्रीको भनाइलाई नै हो ।

प्रायः सबै परस्परविरोधी मुलुकसँग परमाणु शस्त्रअस्त्र छन् । कोसँग कति छन्, त्यो छलफलको विषय हो । परमाणु वम अमेरिकासँग छ भने उत्तर कोरियासँग पनि छ । भारतसँग छ भने पाकिस्तानसँग पनि छ । साउदी अरबसँग छ भने कतारसँग पनि छ । उहिलेको सोभियत संघले माग राखेको निशस्त्रीकरणको प्रस्तावलाई आजको रुसले नै मान्दैन, किनभने अहिलेको बेला आतंकले तह लाउने चेत भएका मानिसले दुनियाँमाथि शासन गरेको समय हो । त्यसैले अहिले बाहिर जे सुनिएको छ, भित्र त्यस्तो छैन ।

एमसीसी चीनलाई घेर्ने रणनीतिक योजना हो । त्यसो हो भने यो अमेरकीहरूको सबैभन्दा गम्भीर गल्ती हो । नेपालजस्तो मुलुकको आडमा बसेर चीनलाई हान्ने भनेको दलाई लामालाई मानसिक शान्ति दिने कामबाहेक अरू केही हुन सक्दैन । आजको तिब्बत पनि १९६० को जस्तो छैन भने चीनको प्रगतिको त हामी जस्ताले अब कुरै गर्नु पर्दैन । सुन्दा कतिलाई नमीठो लाग्ला, तर मानसिक रूपमा अमेरिका बर्बर हृदयहीन व्यापारी हो भने चीन सधैँभरी मिल्ने साथी भएको छ । अमेरिका मित्र गुमाइरहेको छ भने चीन मित्र कमाइरहेको छ । अमेरिका अस्ताँउदो घाम हो भने चीन उदाउँदो घाम भएको छ ।

मान्छे चुपो लागेर आनन्दले खाएर किन बस्न सक्दैन ? यो एउटा गम्भीर प्रश्न हो । एसियामा सिंगापुरलाई युद्ध चाहिएको छैन । त्यसै हुनाले उसले अमेरिका र उत्तर कोरियाको वार्ताको व्यवस्थापन गर्‍यो । मलाई लाग्छ, स्क्यान्डिनेभियाका सरकारहरूलाई युद्ध चाहिएको छैन । स्वीट्जरल्यान्डलाई पनि युद्ध चाहिएको छैन ।

बारम्बार पराजित हुँदा पनि, आफ्नो देशको जनधनको विनाश हुँदा पनि उसले शान्तिले बसी खाएका मुलुकलाई उभिन दिँदैन ? किन ? दुई वर्षअगाडि त्यसले हङकङमा तबाही मच्चाउने कोशिश गर्‍यो । आखिरमा पराजित भएर खुम्चिएर बस्नुपर्‍यो । मध्यपूर्वमा त्यसले बेकारमा हात हाल्यो । बीस वर्षमा पैँतीस हजार जन र सयाैँ करोडको विनाश गराएर मध्यपूर्वबाट लुरुलुरु फर्किनु पर्‍यो । अफगानिस्तान लगायतका मुलुकमा आतंककारीलाई सिध्याउने नाममा त्यहाँका देशहरूमा अमरिकाले खर्बौंको लगानी गर्‍यो । अन्तिममा तिनीहरूकै सत्तालाई नमस्कार गरेर ऊ घर फर्कियो ।

अहिलेको समयमा नेपालमा टेकेर चीनलाई कजाउनेसपना बोकेर नेपालमा उत्रिन खोजेको हो भने अमेरिकाले अकल्पनीय क्षति बेहोर्नुपर्नेछ । अमेरिकाले भियतनाममा करीब सत्तरी हजार जनाको नोक्सानी बेहार्नुपरेको थियो, सत्तरीको दशकमा । दोस्रो विश्वयुद्धमा भन्दा बढी बम खसेको थियो रे भियतनामी युद्धमा । आखिरमा भियतनामले युद्ध जित्यो । अमेरिका लुरुलुरु हवाई जहाज चढेर वाशिंगटनतिर फर्कियो । 

हाम्रो मुलुकमा ठूलो नोक्सानी होला । हामी अनाहकमा मारियौंला, तर अमेरिका पनि जिउँदै भियतनामबाट भागे जसरी भागेर जान सक्ने छैन । त्यो सुखले भाग्न पनि पाउँदैन । आफ्नै आक्रमणकारी सपनाको भूतले अमरिकालाई खानेछ ।

त्यसैले अब मूर्ख बहस नगरौं । एमसीसी आउँदा नेपाली र अमेरिकीहरूलाई सास्ती हुन्छ भने एमसीसी नआउँदा नेपाली, अमेरिकी र चिनियाँहरूलाई समेत शान्ति हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्