
आफूले पूरा गर्न नसकेका सपनाहरू आफ्ना सन्तानले साकार गरिदिऊन् भन्ने धोको प्रायः सबै मातापितालाई हुन्छ । त्यो मायावी सपना पूरा गराउन बुवाआमाहरू कठोर पनि बन्न सक्छन् ।
सन्तानका इच्छालाई सजिलै कुल्चिन सक्छन् । उनीहरूप्रति कठोरता देखाउने क्रममा अत्याचार नै गर्न पुग्छन् । यस्तोमा बालबालिकाले के गर्न सक्छन् ? बिग्रेर जान्छन् कि मेहनत गरेर बुवाआमको सपना साकार गर्छन् ?
यही द्वन्द्वलाई आमिर खानको नयाँ फिल्म दंगलले पेश गरेको छ । हरियाणाका राज्यस्तरीय कुश्ती च्याम्पियन महावीर सिंह फोगाट (आमिर खान) अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाएकोमा दुःखी छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर भारतका लागि स्वर्ण पदक ल्याउने उनको सपना छोरोले पूरा गरिदियोस् भन्ने उनको इच्छा छ । तर उनका लगालग चार छोरी हुन्छन् । तिनैमध्येका ठूला दुई छोरी गीता (जायरा वसिम) र बबिता (सुहानी भटनागर) लाई उनी कुश्ती सिकाएर अन्तर्राष्ट्रिय पदक भित्र्याउन चाहन्छन् । र यस क्रममा ती दुई बालिकाकोे बाल्यपन, लैंगिक चाहना र सपनालाई कठोरतापूर्वक कुल्चिन्छन् । तर शुरुमा प्रतिकार गरेपनि दुवै छोरीले बुवाको सपना पूरा गर्नतर्फ भरपूर प्रयत्न गर्छन् ।
यही कथा हो दंगलको । पिता र सन्तानको द्वन्द्वले जन्माउने हरेक भावनालाई फिल्मले इमान्दारीपूर्वक पेश गर्छ ।
कुश्ती आफैंमा रमाइलो खेल होइन । त्यसैले यसमा बनेको फिल्मले दर्शकको ध्यान खिँचाउन गाह्रै हुन्छ । अनि अहिले पनि सक्रिय रहेका खेलाडीको जीवनलाई आख्यानमा ढाल्न उत्तिकै मुश्किल हुन्छ । यही गाह्रोलाई बुझेर दंगलले खेलभन्दा पनि सामाजिक विषयमा हात हाल्छ ।
लैंगिक विभेदको कुरालाई फिल्मले उठान गर्छ । महिलालाई घर र भान्सामा सीमित गर्ने प्राचीन पितृसत्तात्मक सोचलाई चुनौती दिनका लागि महावीरले आफ्ना छोरीलाई कुश्ती लडाउँछन् । समाजको गिल्ला र तिरस्कारलाई पनि सजिलै पचाउँछन् । छोरीहरूको स्त्रीसुलभ चाहनालाई कुल्चिने क्रममा कपाल काटिदिन्छन्, केटाको लुगा लगाइदिन्छन् र उनीहरूको स्टामिना बढाउन श्रीमतीको इच्छाविपरीत मांसाहार गराउँछन् ।
फिल्ममा द्वन्द्वका अनेक आयाम छन् । पिता र प्रशिक्षकबीचको द्वन्द्व फिल्मको मुख्य आकर्षण हो । कुश्तीको प्रविधि र शारीरिक बलको वृद्धिमार्फत महावीर छोरीलाई राष्ट्रिय च्याम्पियन त बनाउँछन् तर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि उनीहरूले राष्ट्रिय खेल अकादमीमा प्रशिक्षण लिनुपर्ने हुन्छ ।
यस क्रममा ठूली गीता (फातिमा साना शेख) पटियाला जान्छिन् र स्त्रीसुलभ भावनाहरूको साक्षात्कार गर्छिन् । कठोर अनुशासनबाट पाएको मुक्तिको उनी भरपूर उपयोग गर्छिन् ।
त्यहाँ रहेका प्रशिक्षक प्रमोद कदम (गिरीश कुलकर्णी)ले उनलाई उनको बुवाले सिकाएको भन्दा फरक कला सिकाउँछन् । यसरी पिताबाट पितातुल्य व्यक्तित्वमा छायाँमा हुर्किंदा गीता चरम मानसिक द्वन्द्वमा पिल्सिन बाध्य हुन्छिन् जसको प्रतिबिम्ब उनको खेल प्रदर्शनमा पर्छ । र उनलाई सही दिशामा ल्याउन पिताले फेरि हस्तक्षेप गर्नुपर्ने बाध्यता आइलाग्छ ।
यही क्रममा पिताकै प्रशिक्षणमा खेलिरहेकी बबिता (सान्या मल्होत्रा) लाई पनि दिदीसँग द्वन्द्वको अवस्था आइलाग्छ ।
आमिर खान फिल्ममा मजैले जमेका छन्, महावीरको चरित्रमा गहिरो गरी घुसेका छन् । वजन घटाउने र बढाउने काम गरेर चरित्रप्रतिको लगाव त उनी देखाउँछन् नै, एक पिताको भावना र कमजोरीलाई पनि मजाले पर्दामा उतार्छन् ।
तर नायक बन्ने लोभ उनी लुकाउन सक्दैनन् र यही क्रममा उनी प्रशिक्षकलाई खलनायक बनाएर ऊसँगको द्वन्द्वमा आफू हावी भएको देखाउँछन् । वास्तविक जीवनमा गीताका प्रशिक्षक यति खराब थिएनन् र उनले फिल्ममा आफ्नो चरित्रचित्रणप्रति आपत्ति जनाए भन्ने खबर पनि सार्वजनिक भएको थियो ।
अन्य कलाकारले पनि अब्बल काम गरेका छन् । महावीरकी पत्नीका रूपमा साक्षी तँवरले यथार्थपरक भूमिका निर्वाह गरेकी छिन् । उनी प्रायः पृष्ठभूमिमै रहन्छिन् र अनुहारको हाउभाउबाट नै अभिव्यक्ति दिन्छिन् । गीता र बबिताका रूपमा बालकलाकार र ठूला कलाकार दुवैको काम गजबको छ ।
‘चिल्लर पार्टी’ र ‘भूतनाथ’ जस्ता फिल्म बनाएका नितेश तिवारीले बालकलाकारबाट राम्रो काम लिएका छन् । अनि फिल्ममा अपारशक्ति खुरानाले महावीरका भतिजाका रूपमा कमेडियनको भूमिका गजबले खेलेका छन् । अत्यन्त गम्भीर क्षणमा उनी हाँसो छर्न सफल छन् ।
खेलकुदलाई केन्द्रमा राख्ने चलचित्रको अन्त्यमा रहस्य हुँदैन र पूर्वानुमान गर्न सकिने हुन्छ । हो, गीताले कमनवेल्थ खेलमा स्वर्ण पदक जितेर बुवाको सपना पूरा गर्छिन् तर यस क्रममा उनी कस्तो चरणबाट गुज्रिन्छिन् भन्ने कुरा राम्ररी देखाइएकाले फिल्मले बोर गर्दैन ।
सानी हुँदा कपाल काट्ने क्रममा उनी रोएको र ठूली भएपछि पापासँग सरी भन्नुपर्दा रोएको लगायतका केही क्षणले दर्शकको भावना उद्वेलित गर्छन् । महावीर र गीताको कुश्ती पनि फिल्मको सशक्त दृश्य हो । बरू गीतालाई जति बबितालाई फिल्मले स्थान नदिएको अलि चित्तबुझ्दो छैन ।
फिल्ममा अनावश्यक दृश्य
फिल्मका केही दृश्य चाहिँ काम नलाग्ने छन् । महावीरको चरित्र स्थापना गर्नका लागि उनले काम गर्ने कार्यालयमै अर्को कर्मचारीसँग कुश्ती लडेको देखाइएको तुक लाग्दैन ।
फिल्मको क्लाइमेक्समा महावीरलाई कोठामा थुनेको पनि औचित्य देखिन्न । फाइनल खेल शुरु हुनुपूर्व महावीरलाई एउटा कोठामा लगेर बन्द गरिन्छ, जसले गर्दा उनले छोरीले खेलेको फाइनल खेल हेर्न पाउँदैनन् । यो फन्डा गतिलो छैन । त्यसको विकल्पमा महावीर दर्शकदीर्घामा बसेर शान्तपूर्वक खेल हेर्ने वातावरण बनाइन आवश्यक थियो । उनले खेलका क्रममा प्रशिक्षण भने गर्न नपाउने अवस्था बनाइनु उचित हुन्थ्यो ।
अनि भारतमा उग्रराष्ट्रवादी हावा चलेको बेलामा राष्ट्रवादी भावना जगाउन राष्ट्रगान क्लाइमेक्समा बजाएको पनि चित्त बुझ्दैन भलै त्यसको औचित्य फिल्ममा अर्थ्याइएको छ ।
महावीरको भतिजाले फिल्मको कथावाचन गरेको पनि कुनै प्रयोजन छैन ।
महावीर र प्रमोदको प्रशिक्षण पद्धति पूरै फरक कसरी हुन सक्छ ? केही पक्ष त मिल्नुपर्ने हो । (कुश्तीको पूर्वीय र पश्चिमी पद्धतिको द्वन्द्व देखाउन खोजिएको होला ।)
कमनवेल्थको फाइनलमा भएको कुश्तीलाई रोमाञ्चक बनाउन गरिएको कोशिश चाहिँ ठीकै हो । कुश्तीका खेलहरू चाहिँ यथार्थपूर्ण तवरमा पेश गरिएका छन् ।
भारतीय चलचित्रहरुमा गीत संगीतको पनि ठूलो भूमिका र महत्व हुने गरेको छ । तर आमिर यस फिल्ममा भने गीत संगीतको मामलामा चुकेका छन् ।
क्रिकेटको छायाँमा परेको खेललाई महत्व दिएर फिल्म बनाउनु आफैंमा स्तुत्य प्रयास हो । त्यसैले सानातिना कमीकमजोरीका बाबजुद दंगलले दर्शकलाई भरपूर आनन्द दिन्छ ।