काठमाडौं, ३ असार– चलचित्र ‘प्रेमगीत २’ को रिलिज मिति नजिकिँदैछ । ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्काले नायिका पूजा शर्मासँग रोमान्स गरेका थिए । उक्त चलचित्रमा प्रदीप र पूजा दुवैको जोडीलाई रुचाइयो पनि । तर यही सिनेमाको अर्को हिस्सामा भने पूजा शर्माको सट्टामा नवअभिनेत्री अश्लेषा ठकुरीले प्रदीपसँग जोडी बाँध्दैछिन् ।
चलचित्रको मिति नजिकिँदै गर्दा यतिबेला अश्लेषा आफ्नो पहिलो चलचित्रलाई लिएर अलिकति नर्भस छिन् । आफ्नो डेब्यु फिल्मले सफलता दिलाउला या नदिलाउला भन्ने कुरा त आफ्नै स्थानमा रह्यो, फिल्म रिलिजअघि नै उनलाई दर्शकले नोट गरिसकेका छन् ।
सिनेमा क्षेत्र आफ्ना लागि नौलो भएपनि पहिलो फिल्म ‘प्रेमगीत २’ मा अभिनय राम्रो गरेको बताउँछिन् अश्लेषा ।
धनगढीकी अश्लेषाले लामो समय थिएटरमा खर्च नगरेपनि नाटक र सिनेमाबीच धेरै नै फरक रहेको बताउँछिन् । ‘नाटकमा काम गरेपनि शुरुमा भने फिल्ममा काम गर्न असहज भएको थियो । बिस्तारै बानी प¥यो,’ अश्लेषा हाँस्दै भन्छिन् ।
ब्याचलर इन डेन्टल सर्भिसमा डाक्टरी पढ्दै गरेकी अश्लेषा किा डाक्टर नबनेर अभिनयमा आइन् त ? ‘स्कुटर दुर्घटनामा पर्दा म डाक्टर बन्न सकिनँ । तेह्र दिन आईसीयूमा राखेपछि एक महिना पूरै आराम गरेर बस्नुपर्ने भयो,’ ठकुरीले त्यो समय स्मरण गर्दै सुनाइन्, ‘त्यो दुर्घटनापछि मैले ६ महिना घरमै आराम गर्नुपर्ने भयो ।’
उक्त दुर्घटनाले उनको पढाइलाई बिदाइ गर्नुपर्ने अवस्था ल्यायो । डेन्टिस्ट बन्ने सपना पूरा नभएपनि उनले आफ्नो पढाइलाई भने रोकिनन् । अर्को वर्ष सोसियल वर्क विषय लिएर स्नातकमा भर्ना भइन् ।
‘मेरो पेटमा २२ वटा टाँका लगाइएको छ, म त मरेर बाँचेकी हुँ,’ उनले सुनाइन्, ‘नाटकले रिलिफ गर्छ भन्ने सुनेर म रंगकर्ममा आएकी हुँ ।’
अश्लेषाको बुझाइमा अभिनयले रोग तथा चिन्तालाई नियन्त्रण गर्न पनि सहयोग गर्छ । यस्तै यस्तै सुनेका आधारमा उनी सिनेमा क्षेत्रमा आइन् । भोलिका दिनमा दर्शकले उनलाई कत्तिको पत्याउनेछन्, त्यो भने हेर्न बाँकी छ ।
‘मेडिकल विद्यार्थीका लागि सामाजिक वर्क त्यति गाह्रो हुने रहेनछ । त्यही मौकामा कलाकारिता पनि पढौं भनेर नाटक सिकें,’ उनले सुनाइन्, ‘नाटक गर्दा पनि मैले अदृश्य अभिनय गर्ने गर्थें । सुनील सरको कक्षामा म लगनशील विद्यार्थी पनि थिएँ ।’
नाटक सिक्दै गर्दा उनले गरेको अभिनयको समेत गुपचुप चर्चा हुने गर्थ्यो । तर थिएटरमा अभिनय सिक्न आउने पनि उस्तै होनहार थिए ।
‘इन्भिजिबल थिएटर’ गर्दा रत्नपार्कमा उनले यौनकर्मीको भूमिकामा अभिनय गरेकी थिइन् । अश्लेषाका लागि अभिनय भएपनि अर्को पात्रको लागि भने त्यो वास्तविकता भइदिन्थ्यो ।
उनको यही खुबी नै बेलाबेलामा चर्चाको विषय बनिसकेको थियो । ‘त्यतिखेर जे पनि हुन सक्छ । जोखिम पनि उस्तै छ’, उनले सुनाइन् ।
चलचित्र ‘प्रेमगीत २’ प्रेमिकाका रूपमा देखिएकी अश्लेषा आफू भने अझै सिंगल रहेको बताउँछिन् । ‘प्रेम थियो, नभएको होइन । तर अहिले छैन,’ उनी आफूले गरेको टीनएज लभलाई उदाहरण दिँदै भन्छिन्, ‘प्रेमले पनि मान्छेलाई सफल बन्न सघाउँछ । धेरै कुरा पो सिकाउँदो रैछ टीनएज लभले’, उनले हाँस्दै भनिन् ।
‘घाउ भयो भने त्यसलाई मल्हमपट्टी लगाएर अगाडि बढ्ने हो । अल्झने होइन,’ उनले थपिन्, ‘टीनएज लभ छुट्नलाई केही कारण नचाहिने रहेछ । रिसाइदिएपनि प्रेम छुट्ने ।’
अहिले उमेर बढ्दै जाँदा भने प्रेमको परिभाषा फरक हुँदै गएको छ जस्तो लागेको छ अश्लेषालाई ।
नेपाली चलचित्रको बजार बिस्तारै व्यापक हुँदै गएको छ भन्छिन् अश्लेषा । ‘हामीले अझै पनि धेरै कुरासँग सम्झौता गरेर सिनेमा निर्माण गर्नुपर्ने स्थिति छ । यसरी हेर्दा त हामीले धेरै उत्कृष्ट सिनेमा बनाएका हौं,’ उनी थप्छिन् ।
पछिल्लो समयमा समेत नाटक, सिनेमा र सामाजिक कामलाई एकसाथ लैजाने योजना बनाएकी अश्लेषा कुन क्षेत्रमा सफलता पाउनेछिन् समयले बताउला । भन्छिन्, ‘मेरो लागि पहिलो चलचित्र भएपनि अभिनय मेरो पर्याय हो । दर्शकले कस्तो प्रतिक्रिया दिनुहुने हो हेरौं ।’