
अमेरिकन कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको फाइजर खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि सुरक्षित रहेको पाइएको छ ।
फाइजर–बायोएनटेक कम्पनीले सोमवार विज्ञप्ति जारी गर्दै दोस्रो र तेस्रो क्लिनिकल ट्रायलका क्रममा बालबालिकामा प्रतिरक्षा प्रणाली वृद्धि गरेको पाइएको जनाएको हो ।
कम्पनीले सो उमेर समूहका बालबालिकालाई खोप दिनका लागि अनुमति माग्ने तयारी गरिरहेको छ । साथै अमेरिका, युरोप र अन्य देशमा जतिसक्दो चाँडो खोप लगाउन अनुमति लिने योजनामा पनि रहेको कम्पनीको भनाइ छ ।
क्लिनिकल ट्रायलका क्रममा १६–२५ वर्ष उमेर समूहमा देखाएको जस्तै प्रतिक्रिया ५–११ का बालबालिकामा पनि देखिएको कम्पनीले बताएको छ ।
‘यी ट्रायलहरूको नतिजाले ५–११ उमेर समूहका बालबालिकालाई खोप लगाउने बलियो आधार बनेको छ, हामीे एफडीए र अन्य नियामक निकायमा चाँडै दर्ता गर्नेछौं,’ फाइजरका कार्यकारी अल्बर्ट बौर्लाले विज्ञप्तिमा भनेका छन् । - रोयटर्स