
नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक भोलि असोज ५ गते काठमाडौंमा बस्ने भएको छ ।
करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् ।
बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ । बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक संगठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल हुनेछ ।
बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।
संगठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा पार्टी रहेको छ । पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइने छ । वामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।