२२ जेठ २०८३, शुक्रबार

देशैभर वडादेखि केन्द्रसम्म माओवादी पार्टी नेतृत्व निर्वाचनबाट चुन्ने कार्यविधि तयार

देशैभर वडादेखि केन्द्रसम्म माओवादी पार्टी नेतृत्व निर्वाचनबाट चुन्ने कार्यविधि तयार
फाइल फोटो

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । 

माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । 

माओवादीले आगामी पुस ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ ।

माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले वडादेखि केन्द्रसम्म २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुने जानकारी दिए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । 

अध्यक्ष प्रचण्ड र नेता पुनले सोमवार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए । 

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । बैठकमा १८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५/५ जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए । 
 
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रूपमा पार्टी सञ्चालन गरिने बताए । अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थिति विना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे ।

‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउने छैन,’ उनले भने । 

प्रचण्डले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा गरे ।  ‘विचार आधारित विधि पद्धति आधारित र सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछ,’ उनले भने ।

प्रचण्डले आकारमा सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल रहेको दाबी गरे । केपी ओलीको प्रतिगमनविरुद्ध संघर्षको नेतृत्व माओवादीले गरेको उनले बताए । ‘संविधानसभा, गणतन्त्र, संघीयताजस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन् भन्नेमा कोही कसैलाई भ्रम छैन,’ उनले भने, ‘केपी ओलीले प्रतिगमानमार्फत त्यसलाई खोस्ने षड्यन्त्र गरेपछि हाम्रै अगुवाइमा देशभर आन्दोलन भयो, उपलब्धिको रक्षा गर्न सकिएको छ । यसबारे आमनेपाली जनता जानकार छ ।’ 

कार्यक्रममा नेता पुनले व्यक्तिगत महत्वकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे । पुनले प्रचण्डको वरिपरि गोलबन्द भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई अपिल गरे ।

‘व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाका लागि गुटबन्दी गर्ने प्रवृत्ति क्रान्तिकारी प्रवृत्ति होइन,’ उनले भने, ‘विचार र पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ, हामी सबै अध्यक्ष प्रचण्डको परिपरि गोलबद्ध भए मात्र पार्टी बलियो हुन्छ । बलियो पार्टीले मात्र जनताको सेवा गर्न सक्छ ।’

क्रान्तिकारी विचारयुक्त विधि र प्रक्रियामार्फत आन्तरिक संरचना सुदृढ पारेर शहीद तथा बेपत्ता परिवार र विपन्न वर्गको सेवामा समर्पित कम्युनिस्ट पार्टी निर्माणमा लाग्न आग्रह गरे । ‘पार्टीलाई विभिन्न गुट र स्वार्थ समूहबाट अलग गरेर विचारले एक, राजनीतिले एक, संगठनले एक क्रान्तिकारी जोश र जाँगरले एकताबाद्ध बनाउन जरुरी छ,’ पुनले भने । 

उनले नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियामा सहयोग गर्न सबै कमिटीलाई केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्