
सुडानको सरकारी टेलिभिजनले मंगलवार देशमा सैन्य कूको प्रयास विफल गराइएको घोषणा गरेको छ ।
राजधानी खार्तुमबाट नाइल नदी पारि रहेको ओमडर्मानको सार्वजनिक सञ्चारमाध्यमलाई नियन्त्रणमा लिन प्रयास गरिएको पनि उक्त टीभीले घोषणा गर्यो ।
देशको सार्वभौम परिषद्ले परिस्थिति नियन्त्रणमा रहेको र सुरक्षाकर्मीहरूले आरोपितलाई तत्कालै सोधपुछ थाल्ने जनाएको छ ।
सेनाका वरिष्ठ स्रोतले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताएअनुसार, कूमा संलग्न अधिकारीहरूलाई तत्कालै निलम्बन गरिएको छ ।
खार्तुममा दुई वर्षअघि मात्र सफल कू गरिएको थियो । त्यसले लामो समयसम्म शासन गरिरहेका ओमर अल बशिरलाई सत्ताच्युत गरेको थियो । त्यसयता सुडानमा संक्रमणकालीन सरकार परिषद्ले शासन गरिरहेको छ । त्यसमा नागरिक र सैनिक दुवैथरी सदस्य छन् ।
तर बशिरको पालामा रोपिएका गहन राजनीतिक विभाजनहरूलाई परिषद्ले पुर्न सकेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण प्राप्त गर्नका लागि परिषद्ले कठोर आर्थिक सुधार गराउन खोजेको छ तर सुडानी जनताले त्यसको प्रतिकार गरिरहेका छन् ।