
मान्छेको जीवनमा अनेक अनौठा भोगाइ हुन्छन् । कतिपय संयोगले भोग्ने सँगसँगै सुन्नेलाई पनि चकित पारिदिन्छ ।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा यस्तै अनौठो घटना भएको छ । गोदावरी नदीमा १५ सेप्टेम्बरमा भएको डुंगा दुर्घटनामा स्थानीय अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको निधन भयो ।
दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन् ।
सुत्केरी गराएकी डाक्टर पी सुधा पद्मश्रीले लक्ष्मी गर्भधारणबारे परामर्श लिन १ वर्षअघि आफ्नो सम्पर्कमा आएकी बताइन् । उपचारपछि गर्भधारण भएर सुत्केरी हुने दिन २० अक्टुबर तोकिएको थियो । तर उनलाई १५ सेप्टेम्बरमै प्रसव पीडा भएर जुम्ल्याहा बच्चा जन्मिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आमा भाग्यलक्ष्मीले नवजात शिशुमा उनकी मृतक छोरीहरूजस्तै लक्षण देखिएका बताइन् । डुंगा दुर्घटनामा उनका २ छोरीसहित १० आफन्तको निधन भएको थियो ।