२२ जेठ २०८३, शुक्रबार

बेलायत : स्वतन्त्र शक्ति कि अमेरिकाको पाल्तु ?

असोज ५, २०७८
बेलायत : स्वतन्त्र शक्ति कि अमेरिकाको पाल्तु ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई डोनल्ड ट्रम्पसँगको मित्रताका कारण जो बाइडनले सत्ता हात पारेपछि गाह्रो पार्छन् कि भनी पीर लाग्थ्यो ।

तर वाशिङटनमा जोनसनलाई मंगलवार बाइडनले न्यानो स्वागत गर्ने अपेक्षा छ । उनीहरूको भेटघाटमा सुरक्षा, जलवायु परिवर्तन तथा आर्थिक नियमनका विषयमा जोड दिइनेछ । 

जोनसनको टोलीले यसलाई आफ्नो विजय मानेको छ । युरोपेली संघबाट पोहोर साल छुट्टिएको बेलायतले विश्व मञ्चमा भूमिका खेल्नका लागि अमेरिकासँगको सम्बन्धले बल पुगेको सोच जोनसन टोलीमा छ । अमेरिकालाई युरोपेली संघको शक्तिशाली मुलुक फ्रान्सबाट छुट्ट्याउन बेलायत हालै सफल भएको छ । 

अमेरिका र बेलायतले अघिल्लो साता अस्ट्रेलियासँग गरेको पनडुब्बी सम्झौताका कारण फ्रान्स मारमा परेको थियो । रिसाएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना दूतहरू फिर्ता बोलाएको छ अनि बेलायतसँगको रक्षा बैठक पनि रद्द गरेको छ । 

बेलायत र अमेरिकाबीचको विशेष सम्बन्धमा बेलायत कनिष्ठ साझेदार हो भन्ने फ्रान्सको धारणा छ । 

‘फ्रान्सेलीहरूले यसलाई रणनीतिक रूपमा हेरिरहेका छन् । अफगानिस्तानमा बेइज्जती खेपेको अमेरिकाले युरोपेली साझेदारहरूलाई गम्भीरतापूर्वक लिन छोडेको छ र चीनतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । अनि बेलायत चाहिँ अमेरिकाको पाल्तु भएको हिसाबमा उसको पछिपछि दौडिरहेको छ,’ फ्रान्सका लागि बेलायतका पूर्व राजदूत पिटर रिकेट्सले बताए । 

बाइडनका लागि यो साझेदारी दृष्टिकोण र शैलीमा रहेका भिन्नताबाट माथि उठ्नुपर्ने व्यावहारिक आवश्यकतामा केन्द्रित छ । बेलायत युरोपेली संघबाट बाहिरिन खोज्दा बाराक ओबामा त्यसको पक्षमा थिएनन् र त्यतिखेर जोनसनले उनलाई आधा केन्याली भएकाले विरोध गरेको भनी कटु टिप्पणी गरेका थिए । त्यो कुरा बाइडनले मन पराएका थिएनन् । 

तर बाइडन र जोनसनले गत जुन महिनामा जी७ को बैठकमा सौहार्द्रपूर्ण वार्ता गरेका थिए । 

दुवै देशले आफ्ना स्वार्थलाई अघि बढाउने अवसर छ । अफगानिस्तानबाट अव्यवस्थित बहिर्गमनका विषयमा रहेका मतभेदबाट उनीहरू अघि बढ्न चाहन्छन् । 

फ्रान्सले चिन्ता व्यक्त गरेको भए पनि उनीहरू अस्ट्रेलियासँग साझेदारी बनाउन चाहन्छन् । चीनको क्षेत्रीय प्रभावलाई काउन्टर दिनु अकिस नामक उक्त साझेदारीको पहिलो मिसन हो । यसबाहेक उनीहरू कोभिड व्यवस्थापन र जलवायु परिवर्तनमा सहकार्य पनि गर्न चाहन्छन् । 

धनी मुलुकहरूल गरीब मुलुकहरूलाई कार्बन उत्सर्जन घटाउन तथा विश्व तापक्रम अनुकूल बन्नका लागि वर्षको १०० अर्ब डलर दिने प्रतिज्ञालाई पालन गर्न बाइडनमाथि दबाब दिने जोनसनको योजना छ । 

‘यसले ठूलो फरक पार्छ र संसारलाई निकै शक्तिशाली संकेत दिन्छ,’ जोनसनले बताए । 

अमेरिका र बेलायतबीचको व्यापार सम्झौता चाहिँ तत्काल हुने देखिँदैन । बाइडनले नयाँ व्यापार सम्झौतालाई प्राथमिकतामा राखेका छैनन् । 

रोयटर्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्