बेलायत सरकारले कोभिशील्डलाई मान्यता नदिने निर्णय लिएपछि त्यसलाई विभेदकारी भन्दै भारतले आपत्ति जनाएको छ ।
यस विवादलाई समाधान नगरिएमा जवाफी कारवाही गर्न आफू बाध्य हुने पनि भारतको कथन छ ।
भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले बेलायत जाने भारतीय नागरिकहरूलाई असर पर्ने बताए ।
‘कोभिशील्डलाई मान्यता नदिनु विभेदकारी नीति हो र बेलायत जाने हाम्रा नागरिकलाई यसले असर पार्छ । हाम्रा विदेशमन्त्रीले बेलायतकी नयाँ परराष्ट्रमन्त्रीसँग यस विषयमा कुरा उठाउनुभएको छ । यो विवाद समाधान हुने आश्वासन दिइएको मलाई बताइएको छ,’ शृंगलाले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
विदेशमन्त्री एस जयशंकरले बेलायतकी परराष्ट्रमन्त्री लिज ट्रससँग संयुक्त राष्ट्रसंघको साधारणसभाको ७६औं सत्रको साइडलाइनमा कुरा गरेको भनी हिजो ट्वीट गरेका थिए ।
हिजै मात्र बेलायतले कोभिशील्ड लगाएका भारतीयहरूलाई खोप लगाएको नमान्ने र उनीहरू बेलायत आएपछि १० दिनसम्म आइसोलसनमा बस्नुपर्ने घोषणा गरेको थियो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाका अनुसन्धाताहरूले विकसित गरेको कोभिशील्डलाई बेलायतले मान्यता नदिनु आश्चर्यजनक भएको भारतीयहरूले बताएका छन् ।