३० जेठ २०८३, शनिबार

अमेरिका लैजाने भन्दै रोहिंग्या शरणार्थीलाई अवैधरूपमा नेपाल भित्र्याउने तीन विदेशी नागरिक पक्राउ

अमेरिका लैजाने भन्दै रोहिंग्या शरणार्थीलाई अवैधरूपमा नेपाल भित्र्याउने तीन विदेशी नागरिक पक्राउ

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै प्रलोभनमा पारेर अवैधरूपमा नेपाल भित्र्याउने तीन विदेशी नागरिकलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

ब्युरोका अनुसार काठमाडौंको डल्लु बस्ने बंगलादेशी नागरिक ३० वर्षीय अजमत अलि, कपन बस्ने म्यानमारका २७ वर्षीय सोफिक आलम र नूर अमिनलाई पक्राउ गरिएको हो । 

कपन राममन्दिरस्थित शरणार्थी क्याम्पमा बस्ने नूर र सोफिकले आजमतसँग मिलेर रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याउने गरेको ब्युरो जनाएको छ । उनीहरूलाई असोज २ मा पक्राउ गरिएको हो । 

उनीहरूले ६ जना रोहिंग्या शरणार्थीलाई नेपाल पुगेपछि पुरुषलाई पाँच हजार ७५० महिलालाई तीन हजार ७५० र बालबालिकालाई दुई हजार ७५० नेपाली रूपैयाँ बराबरको मासिक भत्ता दिइने र सन् २०२२ मा युएनएचसीआरले अमेरिका जाने परिचयपत्र दिने भनेर प्रलोभनमा पारेका थिए । 

त्यसबापत शरणार्थीहरूबाट दुई लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार बंगलादेशबाट साउन १८ गते स्थलमार्ग हुँदै भदौ १८ गते शरणार्थीहरूलाई विराटनगर ल्याइएको थियो । त्यसको भोलिपल्ट काठमाडौंको महाराजगञ्जस्थित यूएनएचसीआरको कार्यालय जाने बाटोसम्म ल्याएर ती शरणार्थीहरूलाई छाडिदिएका थिए । 

त्यसपछि रोहिंग्या शरणार्थीहरू यूएनएचसीआरको कार्यालयमा गएपछि सो कार्यालयले शरणार्थी परिचय पत्र दिएर कपनमा बस्दै अएका रोहिंग्या शरणार्थीको जिम्मा लगाएको खुल्न आएको ब्युरोले जनाएको छ । 

अमेरिका लैजाने भनेर नेपाल भित्र्याइएका रोहिंग्या शरणार्थीहरूलाई ब्युरोले खोजेतलास गरेको थियो । उनीहरूसँग जानकारी लिँदा नेपाल हुँदै अमेरिका लैजाने भनेर अवैध रुपमा ओसारपसार गरेको खुल्न आएकाले तीन जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्