
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलवार बेपत्ता भएकी १ युवतीको शव ८ दिनपछि फेला परेको छ ।
टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती मंगलवार मृत अवस्थामा फेला परेकी हुन् ।
१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् ।
‘शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ,’ प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने ।
विवाह भएको ५ दिनमा माइत आएकी उनी साथीहरूसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरूले उनको भिडिओ खिचेका थिए ।
भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।