०२ असार २०८३, मंगलबार

पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनेछः माधव नेपाल

पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनेछः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी नेता प्रधान नभइ नीति प्रधान हुने बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेता नेपालले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यिनै आवश्यकता पुरा गर्ने पार्टी हुनेछ । यो पार्टी स्पष्ट समाजवादी कार्यदिशा अँगालेको पार्टी हुनेछ । स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चल्ने पार्टी हुनेछ । नेता प्रधान होइन नीति प्रधान हुनेछ । व्यक्तिवादी होइन विचारवादी हुनेछ ।’

पार्टीले भ्रष्टाचार, कुशासन, कमिसनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादलगायत सबैखाले विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष सञ्चालन पनि उल्लेख गरिएको छ । ‘समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक सांस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका निम्ति अभियान सञ्चालन गर्नेछ । राजनीतिक जागरण अभियान र जनजागरण अभियान सञ्चालन गर्नेछ’, प्रतिवेदनमा भनिएको छ, ‘यी सबै कार्यमा युवाहरूलाई परिचालित गरिने छ र त्यसको माध्यमबाट युवाहरूको नेतृत्व विकासमा पहल गरिने छ । यो पार्टी केवल चुनावदेखि चुनावसम्मको मान्यतामा चल्ने पार्टी हुनेछैन,जनतादेखि जनतासम्मको जनकेद्रित नीति लिएर जनताबिच जाने जन आधारित पार्टी हुनेछ ।’
        
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन ‘अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म नै ‘वरिष्ठ कम्युनिष्ट परिषद्’ गठन गरी अभिभावकत्व र कार्य सम्पानलको व्यवस्थित प्रणाली निर्माण गरिने छ । पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्यांकन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अवलम्वन गरिने छ ।’

राजकीय जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा प्रत्येक तहका निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्ने स्पष्ट मापदण्ड तयार गरी सोही आधारमा उम्मेद्वार वनाइने उल्लेख गरिएको छ ।  पार्टी कमिटीले आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई प्रत्येक जन निर्वाचित पदाधिकारीको कार्य प्रगति र प्रभावकारिता मूल्याङ्कन पर्ने पनि उल्लेख गरिएको छ ।  त्यस मूल्याङ्कनलाई निश्चित तहसम्म सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

राजनीतिक तथा अन्य नियुक्तिहरू निश्चित मापदण्ड र प्रणाली अपनाई योग्यतामा आधारित, व्यवस्थित र पारदर्शी बनाईने पनि उल्लेख गरिएको छ । यस्तै पार्टीलाई उत्पादन कार्यसँग तोड्ने योजना बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्