०४ असार २०८३, बिहीबार

कोइरालालाई गोपालदास पत्रकारिता पुरस्कार : धुमिल हुँदै गएको काउन्सिलको छवि सुधार्ने प्रयास

कोइरालालाई गोपालदास पत्रकारिता पुरस्कार : धुमिल हुँदै गएको काउन्सिलको छवि सुधार्ने प्रयास

प्रेस काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने गोपालदास पत्रकारिता लगायतका पुरस्कारको निर्णय यतिबेला चर्चामा छ । नेपाली पत्रकारितामा गरिमामय ठानिने एक लाख ५१ हजार रुपैयाँको पुरस्कार अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।

कोइराला कुनै राजनीतिक वाद, सिद्धान्त भन्दा माथि उठेका व्यक्तित्व हुन् । उनको अन्तराष्ट्रिय व्यक्तित्व छ । एशियाको नोवेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार समेत उनले नेपाली पत्रकारिताको विकासमा पुर्याएको योगदानकै कारण पाइसकेका छन् । गोरखापत्र दैनिकको चिफ रिपोर्टरदेखि सम्पादक र महाप्रबन्धकसम्म भइसकेका छन् ।

उनीसहितको पहलमा स्थापना भएको प्रेस इन्स्टिच्युटबाट सयौं पत्रकार उत्पादन भएका छन् । कोइराला स्वयं काउन्सिलको सदस्य रही यसको कामलाई विवादरहित बनाउने काममा भूमिका खेलेका थिए ।

नेपाली पत्रकारिताका सम्मानित व्यक्तित्व स्व गोपालदास श्रेष्ठको सम्मानमा स्थापित उक्त पुरस्कार कोइरालाले भने पाएका थिएनन् । उनीभन्दा थुप्रै कनिष्ठ पत्रकारलाई यसअघि यो पुरस्कार दिइँदा मिडिया र सम्बद्ध निकायबाट चर्को आलोचना पनि भएको थियो । अघिल्ला वर्षहरुमा काउन्सिलले सम्मानित  गर्नुपर्ने कोइराला जस्ता व्यक्तित्वलाई नजरअन्दाज गरेको भन्दै आलोचना समेत हुने गरेको थियो ।

बालकृष्ण बस्नेत

हाल काउन्सिलको अध्यक्षमा युवा पुस्ताको नेतृत्व गर्ने बालकृष्ण बस्नेत छन् । वरिष्ठलाई पन्छाएर युवापुस्ताका बस्नेतलाई काउन्सिलमा लगिएको भन्दै टिकाटिप्पणी भएका थिए । तर, यसपटकको पुरस्कार छनौटमा कोइरालाजस्ता व्यक्तिलाई छनोट गरेर बस्नेतले परिपक्वता देखाएको अग्रज पत्रकारहरुले नै बताएका छन् । उनको नेतृत्वमा रहेको काउन्सिलले यस पटक राजनीतिक भागबण्डा भन्दा माथि उठेर कोइरालालाई छनौट गरेको अग्रज सञ्चारकर्मीहरुको भनाइ छ । कोइरालाको छनोटले काउन्सिलको छवि बढाएको टिप्पणी हुने गरेको छ ।
बस्नेतले कान्तिपुर दैनिकमा २० वर्ष सक्रिय पत्रकारिता गरेका थिए ।

देशका विभिन्न दूरदराजमा रहेर कठिन साथ काम गरिरहेका व्यावसायिक पत्रकार पुरस्कार पाउने सूचीमा परेका छन् । काउन्सिलले ६ गते बुधवार आफ्नो वार्षिकोत्सवका अवसरमा कोइरालासहितलाई पुरस्कार प्रदान गर्दैछ ।

वरिष्ठ पत्रकार कोइराला नेपालमा ग्रामीण विकास मूलक पत्रकारिताको सम्वर्द्धनमा एक नम्बरमा नाम आउँछ । त्यतिमात्र होइन, उहाँ प्रेस काउन्सिलको स्थापना र विकास, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल टेलिभिजन र मिडिया विकास कोषको स्थापनामा अगुवाई गर्ने मध्येमा पर्छन् ।
सदाझैँ यसपटक पनि पुरस्कारका लागि काउन्सिलको नेतृत्वलाई राजनीतिक दवाव परेको स्रोतको दावी छ । राजनीतिक दवावमा बाबजुत सबैभन्दा बढी राशिको प्रतिष्ठित पुरस्कारमा कोइराला छनौटमा परेका हुन् ।
यसपटकको १ लाख १० हजार राशिको सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकलाई दिइने निर्णय भएको छ ।  
‘काउन्सिलले यसपटकको जस्तै छनोट प्रक्रियालाई निरन्तरता दियो भने धुमिल भएको छवि र प्रतिष्ठा बढ्नेछ’, एक वरिष्ठ सञ्चारकर्मीले भने । छनौटमा परेका सबै पत्रकारलाई राष्टपति विद्यादेवी भण्डारीबाट पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्