
‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ को उपाधि रत्नजित तामाङले जितेका छन् । मंगलबार राजधानीमा भएको फाइनल खेलमा विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाललाई हराउँदै तामाङ च्याम्पियन बन्न सफल भएका हुन् ।
उपाधिसँगै त्रिभुवन आर्मी क्लबका रत्नजितले प्रथम पुरस्कार ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका लिजर पार्कका प्रिन्स दाहालले २५ हजार रुपैयाँ तथा तेस्रो भएको आर्मीका प्रफुल महर्जन र एपीएफ़का साजनकृष्ण ताम्राकारले नगद १०–१० हजार रुपैयाँ हात पारे ।
यसैगरी महिला एकलतर्फ आर्मीकी रशिला महर्जन च्याम्पियन बनिन् । उपाधिसँगै रशिलाले ५० हजार रुपैयाँ हात पारिन् । दोस्रो भएकी त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले २५ हजार रुपैयाँ तथा तेस्रो भएकी एपिएफ़कि जेसिका गुरुङ र आर्मीकी अमिता गिरीले नगद १०–१० हजार रुपैया हात पारिन् ।
पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई हराउँदै उपाधि जित्न सफल भए ।
उपाधिसँगै विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले प्रथम पुरस्कार ५० हजार तथा दोस्रो भएको साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको एपिएफ़का प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा त्यस्तै कास्की जिल्लाका विधान अधिकारी र विशाल खड्काको जोडीले नगद १०–१० हजार रुपैया हात पारे ।
भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाखे र चितवनका सुभास श्रेष्ठको जोडी कालिका ब्याडमिन्टन क्लबका रामशरण केसी र हरि खत्रीको जोडीलाई हराउँदै उपाधि जित्न सफल भए । उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको रिभाइभल लिजर पार्कका सुरेन्द्र बुढाथोकी र मनोज डंगोलको जोडी र यङ्ग्सटर ब्याडमिन्टन क्लबका किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले नगद ५–५ हजार प्राप्त गरे ।
असोज १ देखि असोज ५ गतेसम्म रिभाइभ लिजरपार्कमा भएको उक्त प्रतियोगिताको विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, रिभाइभ लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटीका अध्यक्ष शुक्र पाख्रीन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक कमिटीका लिला बहादुर थापा, प्रमुख प्रशिक्षक सुदीप योञ्जन लगायतले पुरस्कृत गरे ।




