०१ असार २०८३, सोमबार

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

असोज ६, २०७८
कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो ।

क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशनसमेत धकेलिने भएपछि पालिका अधिवेशनसमेत केही दिन सर्ने जानकारी दिएका छन् । ‘१३ जिल्लामा केही दिनभित्रै वडा अधिवेशन हुन्छ, ९ भदौमा पालिका अधिवेशन तोकिए पनि ती जिल्लामा सोही मितिमा पालिका अधिवेशन सम्भव छैन,’ ढुंगानाले राजधानीसँग भने, ‘पहिले वडा अधिवेशन भएका जिल्लामा हुन्छ, अन्यत्र सर्छ ।’ उनका अनुसार प्रदेश २ का सबै जिल्लामा प्रायः सदस्यता विवाद समाधान भइसकेको छ ।

रौतहट र बाराको सदस्यता रुजु जारी छ । १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा भने प्रक्रिया सुरु भइसकेको छ । काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् । यसअघि, ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशन गत १८ भदौमा तोकिएको थियो ।

तर, सो मितिमा भने प्रक्रिया मात्रै सुरु भएको थियो । अब भने प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण पार्टी वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ । महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरिएको छ ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय भएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्